अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुसहर समुदायद्वारा गृहमन्त्री लेखकलाई ज्ञापनपत्र

मुसहर समुदायद्वारा गृहमन्त्री लेखकलाई ज्ञापनपत्र


सिरहा-गृहमन्त्री रमेश लेखकलाई यहाँका दलित मुसहर समुदायले नागरिकतासम्बन्धी समस्या समाधानका लागि आज ज्ञापनपत्र बुझाएका छन्। लहान नगरपालिकाको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच ‘सवरी सङ्कल्प समाज’ नामक गैरसरकारी संस्थाका अगुवाले  गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएका हुन्। उक्त ज्ञापनपत्रमा मुसहर समुदायलाई नेपालका आदिवासी घोषित गर्नुपर्ने, वङ्शजका आधारमा नेपाली नागरिकता दिनुपर्ने, मुसहर समुदायका भूमिहीन सुकुम्बासीलाई खेतीगोग्य जमिन र घरबासको व्यवस्था गर्नुपर्नेलगायतको पाँच बुँदे माग रहेको छ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री लेखकले मुसहर समुदायको समस्यालाई गम्भीरतापूर्वक अध्ययन गर्ने र समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘तपाईहरुको समस्याप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । यो तपाईहरुको मात्र नभएर राज्यकै समस्या भएकाले यसको समाधान गर्न उचित कदम चालिने छ।’

अधिकारकर्मी अरुण सदायले ज्ञापनपत्र बुझाउँदै मुसहर समुदाय पछाडि पर्नुमा राज्यको विभेदकारी नीति र अन्यायपूर्ण सामाजिक आर्थिक संरचना नै मुख्य कारक रहेको बताउनुभयो। साथै उहाँले दलित समुदायभित्रको अति सीमान्तकृत समुदायको रुपमा रहेको मुसहर जातिको सामाजिक, राजनितिक, आर्थिक, शैक्षिक उत्थान नभएसम्म समृद्ध राष्ट्रको कल्पना गर्न नसकिने बताउनुभयो।

मधेश प्रदेशमा मुसहर समुदायको सङ्ख्या दुई लाख ४७ हजार पाँच सय ५५ रहेको तथ्याङ्क छ। अधिकांश मुसहर समुदायका नागरिक नागरिकताविहीन छन्।