अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२२ अर्ब नै विद्युत् महसुल उठाइनु पर्छ, १६ अर्ब किन छुट दिइयो भन्ने जवाफ पनि खोज्नु पर्छ: प्रधानमन्त्री ओली

२२ अर्ब नै विद्युत् महसुल उठाइनु पर्छ, १६ अर्ब किन छुट दिइयो भन्ने जवाफ पनि खोज्नु पर्छ: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको अघिल्लो सरकार गैरकानुनी तरिकाले दिएको मिनाहा सहितको बाँकी महसुल उठाउनु पर्ने बताउनुभएको छ।

प्रधानमन्त्री ओलीले अघिल्लो सरकारले गैरकानुनी तरिकाले मिलीभगतमा छुट दिएको १६ अर्ब रुपैँया पनि उठाउनु पर्ने बताउनुभएको छ। सो रकम किन छुट दिइयो भन्ने कुराको जवाफ पनि खोज्नु पर्ने प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ।

ओली प्रधानमन्त्री हुने बित्तिकै विद्युत् लाइन काटिएका उद्योगमा विद्युत् जडान गर्ने निर्देशन दिएर विद्युत् महसुल नउठाउन खोजेको आरोप प्रतिपक्षीले लगाएपछि ओलीले उठ्न बाँकी रकम एक पैसा पनि नछाड्ने स्पष्ट पार्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत ओलीले लेख्नु भएको छ– ‘केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रङ्क लाइनका उपभोक्ताबाट सरकारले महसुल उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको छ, तर सरकारको कुरा यत्रो नौ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, किन १६ अर्ब छुट दिइयो भन्ने हो’, उहाँले स्पष्ट पार्नुभएको छ।

प्रधानमन्त्रीले उद्योग पनि चल्न दिएर महसुल उठाउनु पर्ने उल्लेख गर्नुभएको छ। उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्‍याई उद्योगहरूबाट बक्यौता उठाउनै पर्छ, रेकर्डमा देखिएको महसुलमा एक रुपैँया पनि छुट दिनु हुँदैन,  नौ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनु पर्छ’, उहाँले लेख्नु भएको छ।