काठमाडौं-गृहमन्त्री रमेश लेखकले मुलुकमा दुईवटा ठूला राजनीतिक दल मिलेर नयाँ राजनीतिक समीकरण तयार गरेका बताउनु भएको छ।
सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको उद्घाटन कार्यक्रममा बोल्दै लेखकले २०७९ को निर्वाचन पछि मुलुकमा अस्थिर सरकार बनको कारण अधिकांश समय अस्थिर राजनीतिमा नै देश रुमल्लिएको बताउनुभयो।

‘अस्थिरताको कारण मुलुकमा केही सकारात्मक परिणाम देखिन सकेनन्, मुलुकको अर्थतन्त्र शिथिल भयो, भ्रष्टाचार नियन्त्रणमा व्यवधान उत्पन्न भए, वैदेशिक लगानीलाई आकर्षण गरेर केही उद्योग धन्दा स्थापना, रोजगारीको सुनिश्चितता गर्ने, रोजगारी बढाउने कुरामा पनि समस्याहरू देखिए, विकास निर्माणका काम द्रुत गतिमा अगाडि बढ्न सकेनन्, त्यस कारण हामी एउटा नयाँ अठोटका साथ अगाडि बढ्यौँ’, उहाँले भन्नुभयो ।
संसदीय प्रणालीमा सामान्यतया कम अभ्यास हुने गरेको देशका ठुला राजनीतिक दल मिलेर अहिले सरकार बनाइएको उहाँले स्पष्ट पार्नुभयो। मुलुकमा शान्ति स्थापनका लागि, सुशासनका लागि, विकास निर्माणका काम अघि बढाउनका लागि र मुलुकको समृद्धिको लागि यो सरकार अघि बढेको लेखकले बताउनुभयो। ‘अहिलेको सरकार हामी केही मानिसहरू मन्त्री भइहालौँ भन्ने उद्देश्यले मात्र बनेको सरकार होइन’, लेखकले भन्नुभयो।
देश भित्र र अन्तर्राष्ट्रिय स्तरमा विश्वास प्राप्त केपी ओलीले अहिलेको सरकारको नेतृत्व गर्नुभएको सरकारसँग धेरै काम गर्ने अवसर रहेको उहाँले बताउनुभयो । कांग्रेस र एमाले बिचको सहमति अनुसार राजनीतिक गतिलाई निष्कर्षमा पुर्याउने लेखकले दाबी गर्नुभयो । ‘एउटा बहुत राम्रो अवसर र संयोग पनि छ, देश भित्र र अन्तर्राष्ट्रिय जगतमा पनि केही गर्न सक्छ भन्ने विश्वास प्राप्त नेतृत्व सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारका नेतृत्व गरिराख्नु भएको छ’, उहाँले भन्नुभयो ।




प्रतिक्रिया