अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खानेपानीका क्षेत्रमा देखिएका समस्या सबै मिलेर समाधान गर्नुपर्छ: खानेपानी मन्त्री यादव

खानेपानीका क्षेत्रमा देखिएका समस्या सबै मिलेर समाधान गर्नुपर्छ: खानेपानी मन्त्री यादव


चितवन-खानेपानीमन्त्री प्रदीप यादवले देशैभरि खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालको २२औँ स्थापना दिवसका अवसरमा आज सौराहामा आयोजित ‘खानेपानी तथा सरसफाइ क्षेत्रको सवाल र समाधान’ विषयक राष्ट्रिय गोष्ठीमा मन्त्री यादवले जलवायु परिवर्तनका कारणले गर्दा खानेपानीका स्रोत सुक्दै जाँदा अनेकन समस्या आएको उल्लेख गर्नुभयो। ‘आज सेता हिमाल काला हुँदैछन्, हिउँ पग्लिएको छ। पहाडमा पानीका मुहान सुक्न थालेका छन्। मधेसमा चुरेको दोहनका कारण चापाकलमा पानी आउँदैन’, उहाँले भन्नुभयो,’चुरे दोहन तथा जलवायु परिवर्तनका कारण पानीका स्रोत सुकेर देखिएका समस्या समाधानका लागि देशभरि नै जलस्रोतकोे अध्ययन गरेर आवश्यक काम गर्न जरुरी छ।’

आउँदो दिनमा पानीकै लागि विश्वले ठूलो समस्या भोग्नुपर्ने अवस्था सक्ने भन्नुहुँदै मन्त्री यादवले नेपालमा समस्या आउनुअघि नै सजग हुनपर्ने आवश्यकता औँल्याउनुभयो।  उहाँले खानेपानीका लागि बनेका ऐन, नियमावलीमा कुनै समस्या भए समाधान गरेर अगाडि बढ्न सकिने धारणा राख्नुभयो। ‘ऐन, नियमावलीमा के लेखिएको छ यस कुरालाई लिएर तपाईहरू डराउनुपर्दैन। नियमवाली परिर्वतन नहुने ग्रन्थ होइन, यो परिवर्तन हुने कुरा हो। जनताको हकहितका लागि आवश्यकतानुसार यसलाई परिवर्तन गर्न पर्छ। उपभोक्ता तथा जनताको अहितमा हुने काम सरकारले कहिल्यै गर्दैन र अहित हुने प्रावधान परिवर्तन गर्न सकिन्छ’,मन्त्री यादवको भनाइ थियो।

उपभोक्ता महासङ्घलाई जनताको घरसम्म पुगेर लाखौँ जनतालाई खानेपानी उपलब्ध गराएकामा धन्यवाद दिनुहुँदै उहाँले खानेपानीमा बिजुलीलगायत छुटको व्यवस्था गर्नुपर्ने बताउनुभयो। मन्त्री यादवले साना उपभोक्ता संस्थालाई काम तथा कार्यक्षेत्रका आधारमा गाभेर अगाडि बढ्नुपर्नेसमेत बताउनुभयो।

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले खानेपानी उपभोक्ता समितिले व्यावसायिक उद्देश्य राखेर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले खानेपानीको अधुरो आयोजना पूरा गर्न विभाग लागेको र जलवायु परिवर्तनलगायत कारणले पानीको स्रोत घट्दै जाँदा यसमा समस्या आएको उल्लेख गर्नुभयो।

महासङ्घका अध्यक्ष राजेन्द्र अर्यालले खानेपानीमा राज्यले लगाउने कर, बिजुली र इन्धनमा छुटको व्यवस्था गर्नुपर्ने बताउनुभयो। विभिन्न निर्माण तथा मर्मतकार्य गरिँदा वा खानेपानीको पाइप विछ्याउँदा समन्वय हुनपर्ने उहाँको भनाइ छ। महासङ्घले सरकारले गरेका राम्रो निणर्यमा सदैव साथ दिने प्रतिबद्घता व्यक्त गर्नुहुँदै अध्यक्ष अर्यालले सबैसँग सहकार्य गरेर उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो।

महासङ्घका उपाध्यक्ष जनक गिरीले खानेपानीको विद्यमान अवस्था, चुनौती र रणनितिका बारेमा प्रस्तुती राख्नुभएको थियो। अधिवक्ता दिलराज खनालले खानेपानी तथा सरसफाइका कानुनी व्यवस्था र उपभोक्ता संस्थाको नीतिगत कुराहरू प्रस्तुत गर्नुभयो। खानेपानी तथा सरसफाइविज्ञ विनोद शर्माले खानेपानी तथा सरसफाइ दिगो विकासका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो।

कार्यक्रमम खानेपानी महासङ्घ रत्ननगरका अध्यक्ष माधव अर्याल, चितवन खानेपानी महासङ्घका अध्यक्ष धनराज गुरुङ, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलागयतले बोल्नुभएको थियो। त्यस अवसरमा देशभरबाट खानेपानी तथा सरसफाइको क्षेत्रमा काम गर्ने विभिन्न विधाका चार जना पत्रकारलाई सम्मान गरिएको थियो।

गोष्ठीमा केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समिति गरी दुई सय ५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो।