काठमाडौँ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेरिस पारालिम्पिकमा नेपालले प्राप्त गरेको कांस्यपदकले देश कै इज्जत बढेको बताउनु भएको छ।
आइतबार पार्टी कार्यालय सानेपामा आयोजित सम्मान कार्यक्रममा उहाँले नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनले कांस्यपदक हासिल गरेर राष्ट्रकै इज्जत बढाएको भन्दै आगामी दिनको सफलताको लागि शुभकामना दिनु भयो।
उहाँले भन्नभयो, ‘नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको कांस्य पदक प्राप्त हुनुले पनि नेपालकै इज्जत बढेको छ। त्यसका लागि भोलिका दिनमा नेपाली खेलाडी अझ बढी उत्साहित हुन्, अझ बढी तपाईंलाई सफलता मिलोस् भन्ने कामना गर्न चाहन्छु।खेलकुद क्षेत्रको विकासका लागि नेपाली कांग्रेस सदैव प्राथमिकताका साथ सहयोग गरिरहेको छ। आगामी दिनमा पनि अझ सशक्त ढङ्गले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
सभापति देउवाले खेलाडीहरू देशका गहना भएको भन्दै नेपाललाई विश्वलाई चिनाउने कडीको रूपमा खेलकुद क्षेत्रलाई लिनुपर्नेमा जोड दिनु भयो।
कांग्रेसले पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक विजेता ओलम्पिकमा पदक विजेता पलेशा गोर्वधनलाई ५ लाख नगदसहित सम्मान गरेको छ। यसैगरी प्रशिक्षक कविराज नेगीलाई नगद १ लाख ५० हजार रुपैयाँसहित कांग्रेसले सम्मान गरेको छ। सभापति देउवाले पलेशा र उनका प्रशिक्षक कविराज नेगीलाई नगदसहित सम्मान गर्नुभएको हो।
सम्मान कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायतको सहभागीता थियो। पलेशा पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्।




प्रतिक्रिया