काठमाडौं-नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिनुभएको छ। पत्रकार महासंघको आगामी चुनाव हुने सम्भावना न्यून भएपछि पोखरेलले राजीनामा दिनुभएको हो।
आइतबार सम्पन्न महासंघको केन्द्रीय समितिको बैठकमा मतदाताको अन्तिम नामावली तत्काल सार्वजनिक गर्नुपर्ने अडान पोखरेलले राख्नुभएको थियो। तर, अन्य सदस्यहरूले विवाद समाधान भएपछि मात्र नामावली सार्वजनिक गर्नुपर्ने धारणा राखेका थिए।
मतदाता नामावली सार्वजनिक गर्न नसकिएको कारण असोज ५ गतेका लागि निर्धारित गरिएको चुनाव हुने सम्भावना न्यून देखिन्छ। सोही कारणले गर्दा अध्यक्ष पोखरेलले राजीनामा दिएको बुझिएको छ।
पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रीय समितिको कार्यकाल गत चैत महिनामै समाप्त भइसकेको थियो। महासंघ केन्द्रले नयाँ निर्वाचनको मिति असोज ५ गते तोकेको थियो। योसहित हालसम्म तीन पटक निर्वाचनको मिति तय गरिएको छ, तर चुनाव हुन सकेको छैन।
प्रतिक्रिया