काठमाडौं-प्रेस चौतारी नेपालका अध्यक्ष तथा जनता टाइम्सका सम्पादक गणेश बस्नेतलाई प्रहरीले आज धरपकड गर्दै जबर्जस्ती पक्राउ गर्न खोजेको प्रति पत्रकार निकट संघ-संस्थाहरुले गम्भीर आपत्ति जनाएका छन्।
काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा संगठनको कार्यक्रम भइरहेको बेला आज दिउँसो ४ बजेतिर नेपाल प्रहरीको केन्द्रीय साइबर व्यूरोको अधिकारी भन्दै सादा पोशाकका प्रहरीले अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेका थिए। कार्यक्रममा उपस्थित पत्रकारहरुले सामूहिक रुपमा प्रतिवाद गरेपछि प्रहरीको टोली फर्किएको थियो।
सो घटनाको भर्त्सना गर्दै पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घ केन्द्रीय महासचिव रोशन पुरी, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घटना प्रति गम्भीर आपत्ति जनाएका हुन्।
‘समाचारमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानुनी व्यवस्था रहेको छ। यसो हुँदाहुँदै पनि जनता टाइम्स डटकममा समाचार लेखेकै कारण अपराधी जसरी सुनियोजित रुपमा पक्राउ गर्न खोजिनु स्वतन्त्र प्रेस र देशको कानुनको समेत ठाडो उल्लंघन रहेको प्रेस चौतारी नेपालको ठहर छ’– पेस चौतारी नेपलका महासचिव लामाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘घटनाको निन्दा र भत्र्सना गर्दै घटनाको छानविन गर्न मागसहित आगामी दिनमा यस्ता हर्कत नदोहो¥याउन हामी चेतावनी दिन चाहन्छौं। अन्यथा, त्यसबाट उत्पन्न हुने परिस्थितिको स्वयम् सम्बन्धित निकायले लिनुपर्नेतर्फ बेलैमा सचेत गराउन पनि चाहन्छौं’– चौतारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
यसैगरी नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ती जारी गर्दै महासंघको राष्ट्रिय परिषद् सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतलाई समाचारको विषयलाई लिएर प्रहरीको साइबर व्यूरोले पक्राउको प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।






प्रतिक्रिया