मकवानपुर-स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को एक वडा अध्यक्ष पदका लागि मतदान जारी रहेको छ। बिहान ७ बजेटमा सुरु भएको मतदान कार्यक्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति रहेको छ।
पछिल्लाे अवधिमा १ हजार ७६८ मत खसेको छ । विष्णुज्योती आधारभूत विद्यालयमा रहेको मतदान स्थलको ४ मतदान केन्द्रमा ७५४ मत खसेको जनाएको छ । सो मतदान स्थलमा ३ हजार ६२५ मतदाताले मत दिनेछन् भने प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा ४ हजार ४२८ मतदाताले मतदान गर्नेछन् । उक्त मतदान स्थलको ५ मतदान केन्द्रबाट हालसम्म १ हजार १४ मत खसेको छ।
हेटौँडा–१२ मा २०७९ को स्थानीय तहको निर्वाचनको तुलनामा उपनिर्वाचनमा १ हजार ५८८ मतदाता थपिएर कुल ८ हजार ५३ मतदाता रहेका छन्। जसमध्ये ४ हजार ४२८ जना पुरुष र ३ हजार ६२५ जना महिला र एक अन्य मतदाता रहेका छन्।
निर्वाचनका लागि ९ वटा केन्द्रमा ४५ जना कर्मचारीहरू परिचालन गरिएको छ । निर्वाचनलाई भयरहित बनाउन बाक्लो मात्रा सुरक्षाकर्मी परिचालन गरिएको छ।
हेटौँडा–१२ को वडाअध्यक्ष पदका लागि नेकपा एमालेका राजेश नगरकोटी, कांग्रेसका अर्जुनप्रसाद तिवारी, माओवादी केन्द्रका रवि कुमार प्रधान, रास्वपाका आशावीर बल, राप्रपाका प्रेमबहादुर भोलन, जसपाका छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशकी दीपा लामा, नेमकिपाकी फूलमाया तितुङ र एकीकृत समाजवादीका बलराम बल उम्मेदवार रहेका छन् भने स्वतन्त्रबाट अर्जुन घलान, गिताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा रहेका छन्।
२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेसँगै हेटौँडा–१२ को अध्यक्ष पद रिक्त रहेको थियो ।
प्रतिक्रिया