अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेमाथि भइरहेको अनुसन्धानलाई प्रभावित गर्नेगरी अध्यक्ष प्रचण्डले बोल्नु दुर्भाग्यपूर्ण: गृहमन्त्री लेखक

रवि लामिछानेमाथि भइरहेको अनुसन्धानलाई प्रभावित गर्नेगरी अध्यक्ष प्रचण्डले बोल्नु दुर्भाग्यपूर्ण: गृहमन्त्री लेखक


सुर्खेत-गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा रवि लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित गर्ने काम भइरहेको बताउनुभएको छ।

मंगलबार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले सहकारी प्रकरणमा अनुसन्धान हुँदै गर्दा प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय घेर्ने काम भएको र अनुसन्धानलाई प्रभावित पार्न खोजिएको बताउनुभएको हो।

गृहमन्त्री लेखकले सबैको मानवअधिकारको विषयमा सरकार गम्भीर रहेको भन्दै लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको उल्लेख गर्नुभयो। न्यायिक प्रभावित गर्ने ढंगले कसैले बोलेको गलत भएको अवस्थामा प्रमुख प्रतिपक्षी दलका नेताले यस्ता कुरामा बोल्नु दुर्भाग्यपूर्ण भएको उहाँको भनाइ छ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपा सभापति लामिछानेमाथि सरकारले अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको अभिव्यक्ति दिनुभएको थियो। प्रचण्डले लामिछानेमाथि गरेको प्रहरीको ज्यादति रोकिनुपर्ने बताउनुभएको थियो ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा चितवन पुर्‍याइएका लामिछानेले प्रहरीले आफूमाथि ज्यादति गरेको आरोप लगाएका छन्। उहाँले कुनै पनि कुरालाई अतिरञ्जनपूर्ण ढंगले प्रस्तुत गर्ने र भीड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने काम बेठिक भएको धारणा राख्नुभयो।

गृहमन्त्री लेखकले एमाले–कांग्रेसबीच सुमधुर सम्बन्ध रहेको र सहमति अनुसार नै वर्तमान सरकार अघि बढिरहेको बताउनुभयो।