काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चर्चा कमाउनका लागि निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले चर्चाका लागि गरिने निर्णयले क्षणिक फाइदा मात्रै हुने र नतिजा आउन नसक्ने भन्दै वास्तविकतामा टेकेर गर्न सुझाव दिनुभएको हो।
अध्यक्ष ढकालले वैदेशिक रोजगारीमा फ्रि भिसा, फ्रि टिकटको नारा चर्चा कमाउनका लागि मात्रै लगाइएको बताउनु भयो। उहाँले फ्रि भिसा र फ्रि टिकटका लागि नेपाललाई मात्रै नभइ पाकिस्तान र बंगदलादेशलाई पनि रहेको भन्दै कम मात्रै फ्रि टिकट र फ्रि भिसाअन्तर्गत श्रमीक पठाउन सकिने बताउनुभयो।
अध्यक्ष ढकालले वास्तविकतामा टेकेर गरिने निर्णय नै दीर्घकालीन र फलदायी हुने बताउनुभयो। उहाँले भन्नुभयो, ‘मैले वैदेशिक रोजगारीको कुरा गर्न चाहेँ। फ्री भिसा, फ्री टिकट भनिएको छ। यो भनेर मात्रै हुँदैन। मेरो आग्रह के हो भने कहिलेकाहीँ पपुलर नाराको लागि हामीले वास्तविक अवस्थाभन्दा पनि फरक प्रकृतिको डिसिजन गरिरहेका छौँ। म मन्त्रीज्यूलाई के आग्रह गर्न चाहन्छु भने पपुलर डिसिजनभन्दा पनि रियल डिसिजन राम्रो हुन्छ। त्यसबाट रिजल्ट आउने हिसाबको डिसिजन गर्नुपर्छ भन्ने मलाई लाग्छ। यो किन भनेको भने फ्री टिकट, फ्री भिसा भनेको छ। त्यो फ्री टिकट, फ्री भिसा त हामी नेपालीको मात्रै त होइन नि। बंगलादेश, पाकिस्तान पनि छ। हामीले यहाँ फ्रीमा पठाउने भनेर त्यो कति सान्दर्भिक हुन्छ ?’
अध्यक्ष ढकालले सरकारबाट दिइने तालिमहरुले सीपयुक्त जनशक्ति तयार हुनुपर्ने बताउनुभयो।
प्रतिक्रिया