काठमाडौँ-उपसभामुख इन्दिरा राना मगरले अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ।
राष्ट्रिय बालअधिकार परिषद्ले आज यहाँ आयोजना गरेको ‘अपाङ्गता भएका बालबालिकाको निःसंस्थागतकरण, नीति र अभ्यासमा समावेशी गुणस्तरीय शिक्षा तथा अपाङ्गता जाँच उपकरणको संस्थागत प्रयोगसम्बन्धी’ संवाद कार्यक्रममा अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि आवश्यक कानुन बनाउनुपर्नेमा उपसभामुख राना मगरले जोड दिनुभयो । उहाँले स्थानीय तहबाट नै अपाङ्गता बालबालिकाका मैत्री कानुन बन्नुपर्ने बताउनुभयो।
शिक्षा विधेयक समावेशी बनाउन आफूले भूमिका खेल्ने उपसभामुख राना मगरको भनाइ थियो। अपाङ्गता भएका बालबालिकासम्बन्धी बनेका नीतिलाई कार्यान्वयन गर्न सबैले दबाब दिनुपर्ने उहाँले बताउनुभयो। उहाँले अपाङ्गता भएका बालबालिकाको पहुँच शिक्षामा समग्ररुपमा अरू बालबालिका जस्तै पुर्याउनुपर्नेमा जोड दिँर्दै उपसभामुख राना मगरले बालबालिकाका लागि समावेशीकरण नीति बन्नुपर्ने बताउनुभयो।
विश्व नै समावेशीको कुरा गरिरहेको बेला हामीले समानताको नीति बनाएर अभ्यास गर्नुपर्ने उहाँको भनाइ थियो। अपाङ्गता भएका बालबालिकाको शिक्षा र हेरचाह गर्न छुट्टै जनशक्ति उत्पादन गर्नुपर्ने उपसभामुख राना मगरले बताउनुभयो।
कार्यक्रममा परिषद्का अध्यक्ष बमबहादुर बाँनियाले अझै पनि अपाङ्गता भएका व्यक्तिका लागि नीति बने पनि कार्यान्वयनमा समस्या रहेको बताउनुभयो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै हातेमालो समाज नेपालका अध्यक्ष डिल्लीराम गिरीले अपाङ्गता भएका बालबालिकामाथि सरकारले लगानी गरेमात्र बालअधिकार सुनिश्चित हुने बताउनुभयो।
कार्यक्रममा नीति र अभ्यासमा समावेशी गुणस्तरीय शिक्षासम्बन्धी प्रस्तुतीकरण गदै शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक सविता दङ्गालले ३३ विशेष र २३ एकीकृत विद्यालयबाट करिब ३३ हजार अपाङ्गता भएका बालबालिकालाई शिक्षा प्रदान गरिरहेको बताउनुभयो। उहाँले अपाङ्गमैत्री पाठ्यक्रम बनाउने काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रले करिब एक हजार तीन सय विद्यार्थीलाई ब्रेनलिपीका पाठ्य सामग्री उपलब्ध गराएको छ।
यस्तै केन्द्रका अधिकृत दीपक माझीले अपाङ्गता जाँच उपकरणको संस्थागत प्रयोगका सम्बन्धमा प्रस्तुतीकरण गर्दै अझै पनि अपाङ्गता भएका व्यक्तिलाई सबै उपकरण पुर्याउन नसकेको बताउनुभयो। करिब १० हजार आठ सय ८२ अपाङ्गता भएका बालबालिका वैकल्पिक स्याहार केन्द्रमा रहेको परिषद्का अध्यक्ष बाँनियाले जानकारी दिनुभयो। रासस
प्रतिक्रिया