काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावल पार्टी अनुशासनमा नरहेको कारण कारबाही गर्नुपरेको बताउनुभएको छ।
शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले पार्टीको मूल्य मान्यता र अनुशासन भित्र बस्न नसकेको कारण भीम रावललाई सदस्यबाट निष्कासित गर्नु परेको बताउनु भयो। पार्टी कार्यकर्ताले पार्टीका आधारभूत नम्सहरुलाई मान्नु पर्ने बताउँदै महासचिव पोखरेलले रावल त्यस भित्र टिक्न नसक्नु भएको बताउनुभयो।
नेता रावल लामो समयदेखि पार्टी अनुशासन भन्दा बाहिर रहनु भएको महासचिव पोखरेलले बताउनुभयो । चितवन अधिवेशनमा अध्यक्षको उम्मेदवार बन्नुभए पनि रावल पराजित हुनुभएको महासचिव पोखरेलले प्रष्ट पार्नुभयो ।
महाधिवेशनमा पराजित भएका सबैलाई सल्लाहकारमा मनोनीत गर्ने नीतिगत निर्णय पार्टीले गरेको भए पनि उहाँले त्यसलाई नस्विकार्नु भएको महासचिव पोखरेलले बताउनुभयो । सल्लाहकार नभएर बाहिर बसेर पार्टीको पक्षमा काम गर्न सकिने भए पनि रावल हरेक समय पार्टीको विषमा उभिनु भएको महासचिव पोखरेलको भनाइ छ । ‘हरेक पार्टीका निर्णय र नीतिका विपक्षमा क्याम्पियन चलाएर हिँडेपछि पार्टी सदस्य हो भनिरहन मिल्छ र ? त्यस अर्थमा रावलजीलाई हामीले निकालेको होइन, रावलजी आफैँ निक्लिएको हो भन्ने बुझ्नु पर्दछ’, महासचिव पोखरेलले भन्नुभयो ।
एमाले विकल्प दिन सबैलाई कानुन र संविधानले अनुमति दिएको बताउँदै उहाँले तर एमाले हो भने एमालेको विधि विधान र अनुशासनमा बस्नु पर्ने उहाँले प्रष्ट पार्नुभयो । संसद् भित्रको संसदीय ह्विप उलङ्घन गरेकै दिनबाट भीम रावलले एमाले छाडिसक्नुभएको महासचिव पोखरेलले बताउनुभयो । तथापि, एमालेले उहाँलाई सुध्रिने अवसर दिएको भए पनि उहाँले नसुध्रिएको महासचिव पोखरेलको धारणा छ ।
रावल आफू नेतृत्वमा रहेको ठाउँमा अरूलाई जङ्गी शासन लगाउने भए पनि आफू भने अनुशासनमा नबस्ने प्रवृत्तिको नेता भएको महासचिव पोखरेलले बताउनुभयो । ‘आफू जिम्मेवारीमा रहँदा जङ्गी अनुशासन लगाउने मान्छे, आफू चाहिँ जिम्मेवारीमा बस्नु पर्दैन ?’, पोखरेलले प्रश्न गर्नुभयो ।
पार्टीले स्पष्टीकरण सोध्दा समेत त्यसलाई रावलले बेवास्ता गर्नुभएको महासचिव पोखरेलले बताउनुभयो । त्यसको अर्थ उहाँले पार्टी छाडिसक्नु भएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो ।
अन्य दुई जना नेताहरूलाई गरिएको निलम्बन भने उहाँहरूलाई सचेत गराइएको मात्र उहाँले स्पष्ट पार्नुभयो । निलम्बन पार्टीबाट बाहिर पठाउने काम नभएको बताउँदै उहाँहरूको पार्टी भित्रै प्रभाकारी भूमिका खेल्न भविष्यका लागि अनुकूल वातावरण बनाउन सो कार्य गरिएको महासचिव पोखरेलले बताउनुभयो ।
प्रतिक्रिया