काठमाडौं- २०८१ पुस २५ गते हुने दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ मा सुर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री वक्ताको रूपमा सहभागी हुनु हुने भएको छ। डिस्कोर्शको तेस्रो सत्र बीमा क्षेत्रमा प्रविधिको उदय, चुनौती र अवसरहरू शीर्षकमा हुने छलफलमा वक्ताको रूपमा सहभागी हुने आयोजकले जनाएको हो।
अधिकृत खत्रीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकिङ्ग, तथा बीमा र अन्य कम्पनीहरूमा विभिन्न पदमा रही लामो कार्य अनुभव हासिल गरिसक्नुभएको छ। खत्रीले बेलायतको सबैभन्दा ठूलो बार्कलेज बैंकबाट आफ्नो पेसा यात्रा सुरु गर्नुभएको थियो। बार्कलेज बैंकमा आकर्षक पद तथा वित्तीय सुविधा हुँदा पनि आफ्नै देशमा आएर केही गर्ने सोचका साथ नेपाल फर्किएर लक्ष्मी बैंकमा करिब आधा दशक बिताएपछि एनआईसी एशिया बैंक तथा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सञ्चालकको रुपमा समेत अनुभव हासिल गरिसक्नुभएको छ।
बैंकिङ्ग समाचार डट्कमको आयोजना तथा रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा पुस २५ गते दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ आयोजना हुने भएको हो। कार्यक्रमको उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नुहुने आयोजकले जनाएको छ। उक्त कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।
मुख्यरुपमा सो कार्यक्रममा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरु, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरु, बीमामा प्रविधिको उदय चुनौती र अवसरहरु, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार व्यवसाय वृद्धिमा छलफल हुने छ। दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ ले बीमा क्षेत्रका समस्याहरुको समाधान खोज्न सुधार गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया