काठमाडौँ-पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा २०८१ पुस २५ गते रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका छन्।
काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि मुद्दा परेकाले लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा हाजिर हुने भएका हुन्।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि त्यहाँको जिल्ला अदालतको आदेशमा रु.६५ लाख धरौटी बुझाएर बिहीबार बेलुका मात्र रिहा भएका हुन्।
लामिछानेसँगै उक्त मुद्दाका ६ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका छन् । लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो ।
न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई र.६५ लाख, छविलाल जोशीलाई रू.८८ लाख, लीला पछाईँलाई रू. ३७ लाख, मीना गुरूङलाई रू.५ लाख, रामबहादुर खनाललाई रू.१५ लाख, आरती गुरूङलाई रू पाँच लाख र कृष्णबहादुर गुरूङलाई रू एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। प्रतिवादी लीला पछाईँले भने धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहेको अदालतले जनाएको छ ।
प्रतिक्रिया