काठमाडौं-नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अभिव्यक्तिमाथि टिप्पणी गर्नुभएको छ।
नेता बाँस्कोटाले आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष प्रचण्डले सत्ता खुस्केको झोक सिस्टममाथि पोख्न मिल्छ भन्दै प्रश्न गर्नुभएको छ। नेता बाँस्कोटा लेख्नुहुन्छ , ‘कमरेड सुप्रिमोले सरकार मात्र नभइ सिस्टम नै खतरामा परेको ऐलान फिस्सै नमानी पिट्दिन भ्याए छन्। बडेमान नेताले सत्ता खुस्केको झोक सिस्टममाथि नै पोख्न मिल्छ र भन्या ? कि उनको लाइन पनि भुटान भ्रमण प्रभावी हो ? प्रमाण त छैन तर शंकाको सुविधा पाइयो । सजिलै गणतन्त्र खतरामा ? आउँछ के र को ? जवाफ खै?’

हिजो बिहीबार चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका माओवादीका अध्यक्ष प्रचण्डले सरकार यही किसिमले अघि बढे राजनीतिक दुर्घटना हुने अभिव्यक्ति दिनुभएको थियो।
अध्यक्ष प्रचण्डले भन्नुभएकको थियो, ‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ। त्यसकारण हामी आम जनतालाई सतर्क रहन आग्रह गर्दा हामीले सदनबाट पनि संविधान, लोकतन्त्र, समावेशी र समानताको पक्षमा उभिनु पर्छ।’ उहाँले अहिलेको उपलब्धि खोस्न खोजियो भने देश राजनीतिक दुर्घटनातिर जाने बताउनु भएको थियो।

प्रतिक्रिया