कञ्चनपुर-गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महाकाली नदीमा निमार्णाधीन चारलेनको मोटरेबल पुलको निरीक्षण गर्नुभएको छ। ‘भेरियेसन’ का कारण पुल निमार्ण प्रभावित भएपछि आज मन्त्रीद्वय लेखक र दाहालले पुलको निरीक्षण गर्नुभएको हो।
पुल छेउमा निर्माणाधीन पोखरीको ‘गाइडबन्ड’ (बाँध)को परिवर्तित ‘डिजाइन’ स्वीकृत भए पनि भेरिएसन नभएकाले पुलसँगै बन्ने अन्य संरचनाको काम रोकिएको छ।
गत भदौमा महाकाली नदीमा आएको बाढीले भीमदत्त नगरपालिकातर्फ तीन सय मिटर बाँध भत्काएको थियो। सोही कारणले महाकाली नदीमा बनेको चारलेनको पक्की पुल र बस्ती बाढीको जोखिममा परेपछि त्यसको विकल्प खोज्न सडक विभागका निर्देशक र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहित मन्त्रीद्वय स्थलगत अवलोकनका लागि महेन्द्रनगर पुग्नुभएको हो।
पुलको अवलोकन गर्दै गृहमन्त्री लेखकले गाइडबन्ड भत्किएपछि बस्ती र पुल दुवै जोखिममा पर्ने भएकाले तत्काल यसको समाधान गर्न आवश्यक रहेको बताउनु भयो । पुलको पारि दोधारा चाँदनी सुक्खा बन्दरगाह निमार्ण हुने अन्तिम चरणमा छ, यो पुल सफल भएन भने सुक्खा बन्दरगाहसमेत सफल हुँदैन । गृहमन्त्री लेखकले चाँडोभन्दा चाँडो यो समस्याको समाधान गर्न विकल्पको खोजीका लागि स्थलगत अवलोकनमा आएको जानकारी दिनुभयो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वस्तुस्थिति बुझेर समस्या समाधानमा लाग्ने बताउनुभयो । महाकाली नदीमा निर्मित चारलेनको पक्की पुलको दुवैतर्फ छ सय मिटर चौडाइ र दुई हजार आठ सय मिटर लम्बाइको पोखरी निर्माण गरिएको छ । सुरुमा पोखरीको गाइडबन्ड दुई सय ५० किलोभन्दा बढी तौलका ढुङ्गा प्रयोग गरेर निर्माण गर्नुपर्ने डिजाइन थियो । ठूला ढुङ्गा नपाइएपछि डिजाइन परिवर्तन गरी ‘ग्राभेल’ र कङ्क्रिटसहितको गाइडबन्ड निर्माणको नयाँ डिजाइन गत वर्ष चैतमा स्वीकृत भएको सडक विचागले जनाएको छ ।
नयाँ डिजाइन वीकृत भएपछि निर्माण कम्पनीले काम सुरु गरेको थियो । उक्त गाइडबन्ड नदीले भत्काएर महाकाली बस्तीतर्फ सोझिएको छ । सोही कारण बस्ती र पुलसँग पुग्ने पहुँच मार्ग जोखिममा परेको छ । भीमदत्त नगरपालिका–१२ का स्थानीय कृष्णसिंह देउवाले भुजेलाखोला र महाकाली नदीमा बनेको बाँध भत्किएपछि पुलसँगै बस्ती जोखिममा परेकाले समयमा बाँध निर्माण गर्न मन्त्रीसँग आग्रह गर्नुभयो ।
पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोर पाण्डेले परिवर्तित डिजाइनको भेरिएसन नहुँदा काम सुरु गर्न नसकिएको जानकारी दिनुभयो । ‘नयाँ डिजाइन गत चैतमा स्वीकृत भएको हो । अहिलेसम्म भेरिएसन भएको छैन । भेरिएसनका लागि पटकपटक ताकेता गर्दा पनि हुन सकेको छैन,’ उहाँले भन्नुभयो ।
इन्जिनियर पाण्डेले समयमा भेरिएसन नहुँदा महाकाली नदीमा बाढीले ठूलो नोक्सान हुनसक्ने बताउनु भयो । नयाँ डिजाइनको भेरिएसन नहुँदा स्वीकृत हुने बित्तिकै हुने आशामा गाइडबन्डको काम गरिएको तर महाकालीको बाढीले गाइडबन्ड बगाएपछि अहिले क्षतिपूर्ति समेत नपाउने अवस्था आएको गुनासो उहाँले गर्नुभयो ।
पहुँचमार्गको गड्डाचौकी क्षेत्रमा पनि दुई सय मिटर कालोपत्रको काम बाँकी छ । दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा पक्की पुललाई हेरिएको छ । पक्की पुल निर्माण गत वर्ष सकिए पनि पुलसँगैका अन्य संरचना निर्माण हुन बाँकी रहेका छन् ।
प्रतिक्रिया