अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकारको कलम सत्यता र समृद्धिको पक्षमा निडरका साथ चल्नु पर्छ: हीरामान लामा 

पत्रकारको कलम सत्यता र समृद्धिको पक्षमा निडरका साथ चल्नु पर्छ: हीरामान लामा 


चितवन-प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका भ्रमहरू निरूपण गर्न पत्रकारले सक्रियता बढाउनु पर्ने बताउनुभएको छ।  

प्रेस चौतारी नेपाल वाग्मती प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव लामाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत भ्रमको व्यापार फस्टाइरहेको बताउनुभयो। समाजलाई समृद्धिको दिशातिर अघि बढाउन पत्रकारको महत्त्वपूर्ण भूमिका हुने उहाँले धारणा राख्नु भयो। ‘सरकारका विरुद्ध अनावश्यक टीकाटिप्पणी गर्ने र नेतृत्वको तेजोवध गर्ने प्रवृत्ति बढेको छ, हाम्रो कलम सत्यता र समृद्धिको पक्षमा निडरका साथ चल्नु पर्दछ’, महासचिव लामाले भन्नुभयो। 

प्रेस चौतारी नेपाल वाग्मती प्रदेशका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा बसेको बैठकमा वाग्मती प्रदेशका जिल्लाका अध्यक्षहरू, केन्द्रीय सदस्यहरू लगायतले पछिल्लो समयको मिडियाको अवस्था, पत्रकारहरूका समस्या र सरकारको भूमिकाका बारेमा धारणा राख्नु भएको थियो। 

नवलपुरको गैँडाकोटस्थित मौलाकालिका मन्दिरमा बसेको बैठकले आठ बुँदे घोषणापत्र जारी गरेको छ । बैठकले नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, प्रदेश समिति र शाखाहरूमा विजयी उम्मेदवार र मतदातालाई धन्यवाद दिएको छ। 

प्रेस चौतारी नेपालको अगुवाइ र पहलकदमीमा श्रमजीवी पत्रकाको हित र पेसागत रक्षाको पक्षमा निर्माण भएका कानुन, नीति, नियम, निर्णय एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका कानुनहरूको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने बैठकले गरेको छ। पत्रकारको पेसागत दक्षता वृद्धि र सुरक्षाका सवालमा थप संवेदनशील हुन सरोकारवाला सबै पक्षसँग बैठकले माग गरेको छ।  सरकारले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र समृद्धिको पक्षमा गरिरहेको कामको दृढतापूर्वक समर्थन गर्ने निर्णय बैठकले गरेको छ। साथै ती कामहरूको बारेमा आमसञ्चार माध्यमबाट जनसमुदायमा पुर्‍याउन अधिकतम योगदान गर्ने सङ्कल्प बैठकले गरेको छ। 

बैठकले प्रेस चौतारी नेपाल वाग्मती प्रदेश कमिटीको चितवनमा हुन गइरहेको अधिवेशनलाई भव्यतापूर्वक सफल पार्न सम्पूर्ण पत्रकार एवं शुभेच्छुकहरूलाई अपिल गरेको छ। श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक, बिदा, औषधी उपचार, बिमा, उपदान लगायत सामाजिक सुरक्षाको ग्यारेन्टीको माग गर्दै समय सापेक्ष तलब वृद्धिका लागि बैठकले माग गरेको छ। विशेष गरी सरकारी, सामुदायिक र निजी सञ्चार गृहहरूले आआफ्नो सञ्चार गृहमा कार्यरत श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीहरूको सामाजिक सुरक्षा कोषको ग्यारेण्टी गर्न बैठकले माग गरेको छ। 

श्रमजीवी पत्रकारहरू आफैले सञ्चालन गरेका स्वरोजगार मिडियाको संरक्षण र  प्रवर्धनका लागि समानुपातिक विज्ञापन नीति र स्थानीय स्तरका विज्ञापन तथा सूचना स्थानीय सञ्चारमाध्यमलाई नै उपलब्ध गराउन बैठकले माग गरेको छ। अनलाइन सञ्चार माध्यहरूलाई पनि वैज्ञानिक ढङ्गले वर्गीकरण गरी लोककल्याणकारी विज्ञापन सहितका सरकारी सूचना तथा विज्ञापन प्रकाशित गर्ने वातावरण तयार गर्न बैठकले माग गरेको छ । स्थानीय पत्रिका हुलाक  कार्यालयमा दर्ता/नवीकरण गरेपछि पनि टिकट टाँस्नुपर्ने प्रावधान हटाउन सूचना तथा प्रविधि मन्त्रालय समक्ष बैठकले माग गरेको छ। 

प्रेस चौतारी नेपालका सदस्यहरू चितवनका भूपराज पाठक तथा रौतहटका फणी महत स्वास्थ्य समस्याको कारण लामो समयदेखि अस्पतालमा उपचार गराई रहनुभएकोमा बैठकले उहाँहरूको स्वास्थ्य लाभको कामना गरेको छ। 
चितवन छिमेकी जिल्लाको पर्यटन विकासका निम्त महत्त्वपूर्ण रहेका पर्यटकीय एवं धार्मिक क्षेत्र मौलाकालिका क्षेत्रको थप विकासका लागि बैठकले माग गरेको छ।