काठमाडौँ-सडकमा चेकिङ गर्दा सर्वसाधारणले आफ्ना मान्छेलाई फोन गरेको आरोपमा कुटपिट गर्ने प्रहरी कर्मचारीमाथि छानबिन थालिएको छ। दुई पाङ्ग्रे सवारी रोकेर चेकजाँच गर्दा चालकले फोन गर्न खोजेपछि प्रहरीले ‘पावर देखाएको ?’ भन्दै निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ।
प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट गरिरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। सो लगत्तै डिउटीमा खटिएका प्रहरीले झम्टिएर उनीमाथि लात्ता प्रहार गरेको भिडियोमा देख्न सकिन्छ। प्रहरीबाट जोगिन ती युवक अलि पर भाग्न खोज्छन्। तर प्रहरी पछि लाग्दै लात्तीले हानेर ती व्यक्तिलाई बिजुलीको पोल छेउमा लडाउँछन्।
‘ए फोन गर्छस्? कस्लाई फोन गर्छस? पावर लगाउँछस्?’ भन्दै ती व्यक्तिलाई भुइँमा लडाएर कम्मरमुनीको भागमा लात्तै लात्ताले हानेको भिडियोमा प्रष्ट देखिन्छ।
यो भिडियो चितवनको भरतपुर महानगरपालिका बाइबास रोड क्षेत्रको हो। सेतो सर्ट र कालो पाइन्ट लगाएका अन्दाजी २४/२५ वर्षका जस्तो देखिने एक पुरुषलाई प्रहरीले गरेको निर्घात कुटपिटको भिडियो भाइरल भएपछि सत्यतथ्य पत्ता लगाउन अनुसन्धान थालिएको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताउनुभयो।
प्रतिक्रिया