अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीद्वारा बुटवल-गोरुसिंगे सडक स्तरोन्नति कार्यको आज शिलान्यास गर्नुहुँदै

प्रधानमन्त्री ओलीद्वारा बुटवल-गोरुसिंगे सडक स्तरोन्नति कार्यको आज शिलान्यास गर्नुहुँदै


प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको शिलान्यास गर्नुहुने कार्यक्रम रहेको छ । उक्त आयोजनाका प्रमुख इञ्जिनियर कुशलता न्यौपानेले बुटवल उपमहानगरपालिका–१३ जितगढीमा प्रधानमन्त्रीले शिलान्यास गर्नुहुने बताउनुभयो।

सडक विभागले दुई चरणमा गरेर बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटर र गोरुसिङ्गेबाट चन्द्रौटासम्म १९ किलोमिटर सडक स्तरोन्नति गर्दैछ। बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमाक्षेत्र कोठीनदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरुसिङ्गेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते सडक निर्माण ठेक्का सम्झौता भएको थियो। चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इञ्जिनियरिङ ग्रुप कर्पोरेशन र चितवन निर्माण सेवाले ठेक्का सम्झौता गरेको यो सडक स्तरोन्नति गर्दा सञ्चालनमा रहेको यातायात सेवा अवरुद्ध नहुने गरी निर्माण गरिने आयोजना प्रमुख न्यौपानेले बताउनुभयो।

आयोजना प्रमुख न्यौपानेका अनुसार निर्माण कम्पनीले गत कात्तिक ४ गते सडक विभागसँग सडक स्तरोन्नतिका लागि कार्यादेश लिएको कम्पनीले ल्याब, क्रसर र कङ्क्रिट बनाउने ठाउँ बनाइसकेको छ । निर्माण कम्पनी एउटै भए पनि दुई भागमा विभाजन गरी अलगअलग ठेक्का भएकाले काम पनि दुईतर्फबाट एकैपटक हुनेछ । पचास किलोमिटर सडकअन्तर्गत सालझण्डी–पिपरा र वनगाई–गोरुसिङ्गेसम्म करिब २० किलोमिटर जङ्गल क्षेत्र छ । यो खण्डमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्नेछ।

पूर्व–पश्चिम राजमार्ग खण्ड भएकाले बजार तथा बस्ती क्षेत्र पर्ने ३० किलोमिटरमा भने दुवैतर्फ सर्भिस लेनसहितको छ लेन सडक बन्ने आयोजना प्रमुख न्यौपानेले जानकारी दिनुभयो । यो सडक सहर उन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा हुनेछ । ठूला चोकहरुमा अन्डर पास र ओभर पास हुनेछन्।