काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली सहिदहरुको सम्मानस्वरुप श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
सहिद दिवसका अवसरमा बुधबार प्रधानमन्त्री ओलीले सहिदगेट र सहिद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण प्रकट गर्नुभएको हो।
प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्रीहरू प्रकाशमान सिंह, विष्णु पौडेलसहित मन्त्रीहरू सहिदगेट र सहिद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण प्रकट गर्नुभएको हो। सहिदगेटपछि प्रधानमन्त्रीसहित मन्त्रीहरू लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदप्रति सम्मान प्रकट गर्नुभयो।
प्रजातन्त्र स्थापना एवं पुनः स्थापना तथा विभिन्न कालखण्डमा जीवन आहुति दिनेहरूको सम्झनामा सरकारले माघ १६ गते सहिद दिवस मनाउँदै आएको छ।
विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइने गरेपनि त्यसयता लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा सरकारले मृत्युदण्ड दिएको थियो ।
दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ।


प्रतिक्रिया