अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्यार्थीलाई गलत सङ्गतमा पर्न दिइनु हुँदैन: प्रधानमन्त्री ओली

विद्यार्थीलाई गलत सङ्गतमा पर्न दिइनु हुँदैन: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीलाई गलत सङ्गतमा पर्न दिन नहुने बताउनु भएको छ।

श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वल्ड स्कुलद्वारा आज आयोजित ‘युवा अन्तक्र्रिया कार्यक्रम’ मा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हाे।

प्रधानमन्त्री ओलीले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरवगाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधिनमा बस्नु नपरेको स्मरण गराउँदै विद्यार्थीहरुलाई देश भक्तिलाई शीरमा बोकेर इमानदार बनेमा सफलतामा पुग्न सकिने सुझाव दिनुभयो।

प्रधानमन्त्री ओलीले विद्यार्थीहरु अरुको बहकाबमा लाग्न नहुने र असल नेपाली संस्कारलाई पछ्याउनु लाग्नुपर्नेमा जोड दिँदै युवाहरुका लागि स्वदेशमै अवसरहरुको सृजना गर्न सरकारले विशेष ध्यान दिइरहेको बताउनुभयो।

नेपालको भलाइका लागि तपाईँले देखेको सबैभन्दा ठूलो सपना के हो ? भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै आफ्ने ठूलो सपना भएको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीसमक्ष विद्यार्थीहरुले उहाँका रुचिका विविध पक्षमा पनि प्रश्न गरेका थिए।

प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार बनाएर र आधुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरुलाई विश्व बजारको प्रतिस्पर्धी बनाउने संकल्प पनि गर्नुभयो। ‘विदेशमा गएर नेपाली युवाले अरुका देश बनाएका छन्। अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ। हामीसँग एक करोड युवा अहिले पनि स्वदेशभित्रै छन्। त्यसैले अब हामी हाम्रो देश बनाउँछौँ।’ विद्यार्थीहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यस देशबाट गरिबी समाप्त पार्नुपर्छ। देशको स्वाधीनताको झण्डा झुक्न दिन हुँदैन र देशलाई समृद्ध नेपाल बनााउनुपर्छ।’