अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’

भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’


काठमाडौं-फेब्रुअरी महिनालाई प्रेमिल जोडीहरुको महिना मान्ने गरिन्छ। उनीहरुका लागि फेब्रुअरी महिना निकै विशेष हुन्छ।

फेब्रुअरीको दोस्रो साता अर्थात आजबाट प्रेमीहरु एकआपसमा प्रेम साटासाट गर्छन्। माया गर्नेहरूका लागि आजबाट हरेक दिन उत्सव जस्तै हुन्छ। प्रेम गर्ने जोडीहरूले साताभर आफ्नो पार्टनरसँग प्रेम व्यक्त गर्न विभिन्न तरिकाहरू अपनाउँछन् त्यसैले प्रेमको यो हप्तालाई भ्यालेन्टाइन साता मान्छन्।

भ्यालेन्टाइन सप्ताहका सात दिनमा प्रेमिल जोडीहरुले विभिन्न तरिकाले प्रेम व्यक्त गर्ने गर्छन्। यो आज ७ फेब्रुअरीदेखि सुरु भएर १४ फेब्रुअरी सम्म मनाइन्छ।

भ्यालेन्टाइन सप्ताहको पहिलो दिनलाई गुलाफ दिवस (रोज डे) को रूपमा मनाउँछन्। प्रेम गर्ने जोडीहरूले रातो गुलाफ फूलको सहायताले आफ्नो प्रेम व्यक्त गर्छन्।

यसैगरी, दोस्रो दिन फेब्रुअरी ८ मा प्रपोज डे, फेब्रुअरी ९ मा चकलेट डे, फेब्रुअरी १० मा टेडी डे, फेब्रुअरी ११ मा प्रमिस डे, फेब्रुअरी १२ मा हग डे, फेब्रुअरी १३ किस डे र फेब्रुअरी १४ मा प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे मनाउँछन्।

कसरी सुरु भयो भ्यालेन्टाइन डे ?

भ्यालेन्टाइन डे ईपू २७० रोम (इटाली) बाट सुरु भएको मानिन्छ । यो दिवस पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग जोडिएको छ। उनी रोमन सम्राट क्लाउडियस द्वितीयले लगाएको प्रेम र विवाहको विरुद्धमा लागे। सम्राटले युवा प्रेम र विवाहतिर लागेमा सैनिक सेवा प्रभावित हुन्छ भन्ने मान्यता राखेर यसलाई प्रतिबन्ध लगाएका थिए । सम्राटले महिलासँगको सम्बन्धका कारण सुरक्षाकर्मीमार्फत गोप्य विषय बाहिर जाने भयले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरेका थिए।

भ्यालेन्टाइन भने सम्राटको निर्णय धर्मविरुद्ध भएको जिकिर गर्थे । उनले अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वरसमेत खुसी हुने तर्क गर्थे। भ्यालेन्टाइनले राजाको आज्ञालाई मानेनन् र प्रेम र विवाहका लागि प्रेरित गरे । उनले युवायुवतीका जोडी तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम गरे । राजाको आज्ञा नमानेको भन्दै उनलाई ईपू २७० को फेब्रअरी १४ मा मृत्युदण्ड दिइयो। प्रेमका लागि आफ्नो ज्यान दिएका पादरी भ्यालेन्टाइनको सम्झनामा उनका अनुयायीहरुले भ्यालेन्टाइन डे मनाउन सुरु गरेका थिए।

पश्चिमा देशहरुबाट सुरु भएको भ्यालेन्टाइन पछिल्लो वर्षहरुमा विश्वभर मनाइँदै आइएको छ ।

Skip This