काठमाडौं-परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा ओमान भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ।
एक साता लामो भ्रमणका लागि चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ आज बिहान त्यसतर्फ प्रस्थान गरेको मन्त्रालयले जनाएको छ । भ्रमणको दौरान मन्त्री डा. राणाले ‘समुद्री साझेदारीको नयाँ क्षितिजतर्फको यात्रा’ भन्ने नाराका साथ ओमानको राजधानी मस्कटमा आयोजना हुने ‘आठौँ हिन्द महासागर सम्मेलन’ मा भाग लिनुहुने छ।
भ्रमणका क्रममा मन्त्री डा. राणाले ‘विश्वको दक्षिणी भेगको आवाजलाई बुलन्द पार्ने’ शीर्षकमा सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्ने मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो। साथै, उहाँले ओमानका विदेशमन्त्री, ऊर्जा तथा खनिजमन्त्री र ओमानका अन्य सम्बन्धित मन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । यस अतिरिक्त आपसी सहयोगका क्षेत्रमा केही समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।







प्रतिक्रिया