अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारी वर्षाको सम्भावनापछि मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह

भारी वर्षाको सम्भावनापछि मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह


हेटौँडा-बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनअनुसार कात्तिक ११ देखि १४ गतेसम्म मकवानपुरसहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ।

सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले आज जारी गर्नुभएको सूचनामा भारी वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बाढी, कटान, डुबान र पहिरोको जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रशासनले पाकेको धानबाली तथा अन्य कृषिउपज सुरक्षित रूपमा भित्र्याउन, वर्षाको अवधिमा बाली नकाट्न, नदी तथा खोला नतर्न र माछा मार्ने तथा दाउरा सङ्कलन गर्नेजस्ता जोखिमपूर्ण कार्य नगर्न अनुरोध गरेको छ।

त्यस्तै, त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौँडा–काठमाडौँ छोटा मार्ग तथा ग्रामीण सडकमा पहिरोको जोखिम रहेकाले अत्यावश्यकबाहेक लामो दूरी र रात्रिकालीन यात्रा नगर्न तथा यात्रा गर्नै परे सडकको अवस्था बुझेर मात्र निस्कन आग्रह गरिएको छ । बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति, बिरामी तथा चौपायालाई सुरक्षित स्थानमा राख्न र महत्त्वपूर्ण कागजात सुरक्षित गर्नसमेत प्रशासनले अनुरोध गरेको छ ।