काठमाडौं-सरकारले सोमबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नुभएको हो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ‘ब्रिज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम’को तेस्रो चरणअन्तर्गत करिब २० अर्ब (१५० मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्ने सम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने र उक्त वार्ता टोलीलाई विश्व बैंकसँग वार्ता गर्ने अख्तियारी दिने निर्णय भएको सञ्चार मन्त्री गुरुङले जानकारी दिनुभयो।
यसै गरी बैठकले २०८० वैशाख १ गतेयताका मनसुनजन्य विपद्मा परि बेपत्ता भएका व्यक्तिका परिवारलाई बेपत्ता भएको व्यक्ति कम्तीमा १० दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी मृतकसरह राहत उपलब्ध गराउने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो।
त्यस्तै मन्त्रिपरिषद्ले नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक जनालाई बढुवा गर्ने निर्णय गरेको छ भने एक जना महासेनानी, दुई जना सहायक रथी र एक जना उपरथीको पदावधि थप गर्ने निर्णय गरेको छ ।
यसै गरी, फागुन १८ देखि २२ गतेसम्म भारतमा हुने खानेपानी तथा सरसफाइ स्वच्छता क्षेत्रको विकाससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने सम्बन्धमा सहभागी हुन खानेपानी मन्त्रीलाई स्वीकृति दिने निर्णय पनि भएको छ।









प्रतिक्रिया