अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गगन थापा भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा

गगन थापा भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा


काठमाडौँ-नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न स्थलगत भ्रमणमा निस्किएका छन्। प्रभावित नागरिकका समस्या, आवश्यकता तथा पुनःस्थापनाका विषयमा जानकारी लिन उनी प्रभावित क्षेत्र पुगेका हुन्।

सभापति थापा टोखा–छहरे हुँदै वेत्रावती पुगेर रसुवा र नुवाकोट दुवैतर्फका बाढी प्रभावित नागरिकसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। त्यसपछि उनी रसुवाको बोगटीटारस्थित होल्डिङ सेन्टर पुगेर प्रभावितसँग छलफलमा सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ।

थापा नुवाकोट फर्केर ढुङ्गे र त्रिशूली बजारका बाढी प्रभावितसँग पनि छलफल तथा अन्तरक्रिया गर्नेछन्। त्यस्तै, विदुरमा बाढी प्रभावित सरोकार समितिका प्रतिनिधिहरूसँग भेटेर प्रभावित क्षेत्रको अवस्था, समस्या र आवश्यकताबारे जानकारी लिने कार्यक्रम रहेको छ।

उनले विदुर नगरपालिका–५, पिपलटारमा रसुवा र नुवाकोटका बाढी प्रभावितलाई राखिएका पाँचवटा होल्डिङ सेन्टरको अवलोकन गरी त्यहाँ रहेका नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन्।

सभापति थापाको भ्रमण कार्यक्रमअन्तर्गत नुवाकोटको देवीघाट हुँदै धादिङको गल्छी र गजुरी पुगेर बाढी प्रभावितसँग छलफल तथा अन्तरक्रिया गर्ने र त्यसपछि काठमाडौं फर्कने तालिका रहेको छ।

भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको वर्तमान अवस्था बुझ्ने, उनीहरूले भोगिरहेका समस्या पहिचान गर्ने तथा पुनःस्थापना र राहतका आवश्यकताबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले थापा विज्ञ टोलीसहित प्रभावित क्षेत्रको भ्रमणमा निस्किएका हुन्।