काठमाडौँ-प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुई दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली जाँदै छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता अम्बिका जोशीका अनुसार प्रधानमन्त्री शाह आइतबार अपराह्न ३ः४५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम तय भएको छ। सामान्यतया भारत भ्रमणमा आउने अन्य देशका प्रधानमन्त्रीलाई विमानस्थलमा राज्यमन्त्रीस्तरका अधिकारीले स्वागत गर्ने परम्परा रहेको छ।
विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै नयाँ दिल्लीस्थित होटल ताज मानसिंह जानेछन्। आइतबार साँझ ६ बजे सोही होटलमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै नयाँ दिल्लीमा नेपाल र भारतका राष्ट्रिय झण्डा फहराएर स्वागतको तयारी गरिएको छ।
आइतबार साँझ नेपाल र भारतका व्यवसायीबीच विशेष अन्तरक्रिया कार्यक्रमसमेत आयोजना हुनेछ। उक्त कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित दुवै देशका उद्योगी तथा व्यवसायी सहभागी हुनेछन्। कार्यक्रममा व्यावसायिक सहकार्य, आर्थिक साझेदारी र सहयोग आदानप्रदानका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ भने मोदीले शाहको सम्मानमा दिवाभोजसमेत आयोजना गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा आर्थिक सहकार्य, हवाई सम्पर्क विस्तार तथा विकास आयोजनासम्बन्धी विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा एक दर्जनभन्दा बढी परियोजनाको उद्घाटन तथा शिलान्यास र विभिन्न समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गर्ने तयारी छ।
नेपालले अन्तर्राष्ट्रिय हवाई उडानलाई सहज बनाउन भारतीय आकाश हुँदै भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आग्रह गर्दै आएको छ। यस विषयमा भारतसँग सहमति जुटाउने प्रयास भ्रमणको प्रमुख एजेन्डामध्ये एक रहेको छ। विगतमा सुरक्षा संवेदनशीलता देखाउँदै भारतले थप हवाईमार्ग उपलब्ध गराउन आनाकानी गर्दै आएको भए पनि यसपटक कम्तीमा एउटा मार्ग उपलब्ध गराउने आश्वासन प्राप्त भएको अधिकारीहरूको भनाइ छ।
भारत महेन्द्रनगरबाट हवाई प्रवेश मार्ग उपलब्ध गराउने प्रस्तावप्रति तुलनात्मक रूपमा सकारात्मक देखिएको छ। यद्यपि, प्राविधिक पक्षमा छलफल जारी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले बताएका छन्। महेन्द्रनगरबाट हवाई प्रवेश गर्दा विमान भारतीय आकाशमा तुलनात्मक रूपमा बढी उचाइबाट प्रवेश गर्नुपर्ने हुन्छ। भैरहवाको प्रस्तावित मार्ग भने कम उचाइबाट प्रवेश गर्न मिल्ने भएकाले नियमित उडान तथा अवतरणका लागि बढी उपयुक्त हुने तर्क गर्दै नेपालले भैरहवा मार्गमा सहमति जुटाउन जोड दिइरहेको छ।
पश्चिम बंगालस्थित बागडोगरा विमानस्थलका लागि भारतले नेपाली हवाई क्षेत्रको केही भाग प्रयोग गर्ने भएकाले हवाई प्रवेश मार्गको विषयमा भारत लचिलो देखिएको बताइएको छ। महेन्द्रनगर, जनकपुर र भैरहवाबाट फरक–फरक उचाइमा हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयमा छलफल भए पनि सम्झौतामा हस्ताक्षर हुने निश्चित भइसकेको छैन।
भ्रमणका क्रममा अयोध्या–जनकपुर सिधा रेलमार्ग, काभ्रेको पनौतीमा निर्माण गरिएको नेपाल प्रहरी एकेडेमीको भवन, दार्चुलामा निर्माण गरिएको पुल तथा भैरहवास्थित एकीकृत जाँच चौकी (आईसीपी) उद्घाटन गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
यसैगरी, अमलेखगन्जदेखि चितवनसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। सूचना प्रविधि, बन्दरगाहलगायत नयाँ क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारीसमेत गरिएको छ।
द्विपक्षीय वार्तामा प्रस्तावित आर्थिक प्याकेज, हवाई सम्पर्क विस्तार तथा नेपाल–भारत सम्बन्धका विविध आयाममा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। यद्यपि, वार्ताका सबै विषय अन्तिम रूपमा टुंगिन बाँकी रहेको र भ्रमणअघि नै सहमति जुटाउने प्रयास भइरहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्।



प्रतिक्रिया