काठमाडौँ-नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।
प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणको पूर्वसन्ध्यामा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले भ्रमणले नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, समानता र राष्ट्रिय हितका आधारमा अघि बढाउने अपेक्षा व्यक्त गरेका छन् ।
आचार्यले महत्त्वपूर्ण विदेश भ्रमणअघि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल तथा परामर्श गर्नुका साथै राष्ट्रपतिसँग संवाद गर्नुपर्ने भए पनि सरकारले त्यसो नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
यस्ता परामर्शले राष्ट्रिय चासोका विषयमा साझा धारणा बनाउन र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज सशक्त बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।
भ्रमणका क्रममा सीमा तथा भूभागसम्बन्धी विषयमा नेपालको स्थापित अडान, ऐतिहासिक प्रमाण र राष्ट्रिय सहमतिअनुरूप स्पष्ट तथा जिम्मेवार प्रस्तुति हुनुपर्ने आचार्यले बताएका छन् ।
‘मित्रवत् सम्बन्धलाई सुदृढ बनाउँदै आफ्ना चासो दृढतापूर्वक राख्न सक्नु नै प्रभावकारी कूटनीति हो । देशको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादालाई स्मरण होस् । नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिनुपर्ने परिस्थिति नआओस्, लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहोला’, आचार्यले प्रधानमन्त्रीलाई सचेत गराउँदै भनेका छन् ।
उनले सरकारले घोषणापत्रमा उल्लेख गरेका रोजगारीका सपना, बहुपक्षीय कूटनीति र राष्ट्रिय हितका प्रतिबद्धता भाषण तथा प्रचारमा मात्र सीमित हुन नहुने बताएका छन् ।
‘यहाँको भ्रमणले नेपालको स्वाभिमान उँचो राख्दै दुई देशबीच विश्वास बढाओस् र नेपाली जनताका अपेक्षा सम्बोधन गर्ने ठोस आधार तयार गरोस्’, आचार्यले भनेका छन् ।
प्रधानमन्त्री शाह भारतबाट फर्किएपछि भ्रमणका उपलब्धि र समझदारीबारे संसद् तथा जनतालाई जानकारी गराउने अपेक्षा पनि आचार्यले गरेका छन् । उनले प्रधानमन्त्रीको भ्रमण सफल र फलदायी होस् भन्दै शुभकामना दिएका छन् ।
प्रधानमन्त्री शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज भारतको नयाँदिल्ली प्रस्थान गर्दैछन् । उनी सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।



प्रतिक्रिया