काठमाडौँ-ताप्लेजुङको फुङलिङ नगरपालिका-११ मा पाथीभरा केबलकार निर्माण विवाद बारे गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका संघीय सांसदहरू छलफल गर्नुहुने भएको छ।
पाथीभरा क्षेत्रमा भएको समस्याबारे छलफल गर्न बिहीबार गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई बोलाउनु भएको हो। सिंहदरबारमा मन्त्री लेखक र गृह सचिव गोकर्णमणि दुवाडीले छलफल गर्न लागेका हुन् ।
‘नो केबलकार’ आन्दोलनरत पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले राजधानीमा उपलब्ध कोशी प्रदेशका संघीय सांसदसँग गृहमन्त्री लेखकले छलफल गर्न लागेको जानकारी दिनुभयो।
सहसचिवले सरकारी वार्ता टोलीका तर्फबाट आन्दोलनरत पक्षलाई वार्तामा आउन औपचारिक आह्वान गर्दै पत्र लेख्ने तयारी भइरहेको बताउनुभयो। यस अघि समितिले गत सोमबार केबलकारको निर्माण बन्द गरेर वार्तामा आउन आग्रह गदै एक अपिल सार्वजनिक गरेका थिए।
सरकारले माघ २० मा गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो। ‘नो केबलकार’ समूहले पनि अमर तुम्याहाङको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो। दुवै टोलीको बीचमा २०८१ माघ २२, २७ र २८ मा वार्ता भए पनि सहमति भएको छैन।
१० फागुन २०८१ मा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो। झडपका क्रममा एक दर्जनभन्दा बढी घाइते भएका थिए । झडप पछि सहसचिव भट्टराईले पुनः वार्तामा आउन आह्वान गर्नुभएको थियो । तर, मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समितिका संयोजक श्री प्रसाद लिम्बु सहितका २२ जनाले वार्तामा बस्न अस्वीकार गरेका थिए । अस्वीकार गर्नेमा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो पनि छन्।







प्रतिक्रिया