काठमाडौं – सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । अहिले बिहान २ बजेर ५१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ ।
भूकम्पविद् भरत कोइरालाले दिएको जानकारीअनुसार सिन्धुपाल्चोकको भैरवकुन्ड आसपासमा केन्द्रबिन्दु गएर भूकम्प गएको छ ।
“सिन्धुपाल्चोकको भैरव कुन्ड ताल आसपास केन्द्र बनाएर भूकम्प गएको छ,” भूकम्पविद् कोइरालाले भने, “राति २.५१ बजे भूकम्प मापन गएको छ ।”
उनका अनुसार भूकम्प १० किलोमिटर गहिराइबाट गएको मापन भएको छ । भूकम्पको सिन्धुपाल्चोकसहित काठमाडौं उपत्यका र आसपासका जिल्लामा धक्का महसुस भएको थियो ।
भूकम्पका कारण पहिरो गएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा पहिरो गएको हो ।
“मानवीय बस्ती नभएको ठाउमा सुक्खा पहिरो गएको छ,” प्रमुख जिल्ला अधिकारी किरण थापाले भन्नुभयो “घर नभएको ठाउँमा पहिरो गएकाले मानवीय क्षति हुन पाएन ।”
हालसम्म मानवीय क्षतिको जानकारी नआएको थापाले बताउनुभयो ।
जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दी घाइते भएका छन् । “भूकम्प आएपछि आत्तिएर दोस्रो तलाबाट हामफाल्ने क्रममा एकजना कैदीको हात भाँचिएको छ,” जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक किरण लामाले भन्नुभयो, “उनको अवस्था सामान्य रहेको र उपचार भइरहेको छ ।”







प्रतिक्रिया