अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनसिसी तालिमको दीक्षान्त

अनुशासित र राष्ट्रप्रेमी युवा चाहिएको छ: प्रधानमन्त्री ओली

अनुशासित र राष्ट्रप्रेमी युवा चाहिएको छ: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनु भएको छ। फागुन १८ गते आइतबार सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल (एनसिसी) को सिसं. १९ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो।

प्रधानमन्त्री ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएकाले युवाको महत्व मनन गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले युवा जगतको चौतर्फी विकासमा सरकार हरेक समय प्रतिबद्ध रहेको जिकिर गर्नुभयो।

प्रधानमन्त्री ओलीले नैतिकवान, क्षमतावान, देशभक्त युवाहरु तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित राष्ट्रिय सेवादल स्थापना भएको बताउनु भयो।

प्रधानमन्त्री ओलीले ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी’ उक्तिलाई आत्मसाथ गर्दै चन्द्र र सूर्य अंकित झण्डाप्रति सदैव अनुशासित भई शिरोपर गर्न सक्ने युवाहरुको खाँचो राष्ट्रलाई रहने भएकाले यो कार्यक्रम नेपाल सरकारको उच्च प्राथमिकतामा परेको बताउनुभयो।

‘तपाईहरुमाथि तपाईंको अभिभावकको मात्र आशा र सपना निहित नरही तपाईंहरुका प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ। त्यसैले सर्वाेत्कृष्ट समाज निर्माणका लागि यसै युवा अवस्थामा तपाईहरुले आफ्नो मनोबल उच्च बनाउनको साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै तपाईंहरुको आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र त्यसलाई पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि शुरु गर्नुपर्दछ।’

सेवा दलका प्रमुख संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘राष्ट्रलाई आवश्यक परेको बेलामा तपाईंहरुले निःस्वार्थ सेवा भावबाट समर्पित भई एक सच्चा नेपाली नागरिकका रुपमा महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुनेछ र यस तालिमको दौरान तपाईंहरुले हासिल गरेका ज्ञानले यहाँहरुलाई उक्त कार्यको लागि अभिप्रेरित र सहयोग गर्ने विश्वास लिएको छु।’

प्रधानमन्त्री ओलीले देशभक्ति, कर्तव्यपरायणता र श्रेष्ठताका लागि दीक्षित छात्रा/छात्रालाई शुभकामना दिँदै अरुलाई छिर्के लगाएर नभई स्वच्छ प्रतिस्पर्धाका आधारमा मुलुकको विकासमा समर्पित हुन र अघि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, प्रधानसेनापति अशोकराज सिग्देल, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोल, सुरक्षा निकायका प्रमुखहरुलगायत उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा भारत र माल्दिभ्सका एनसिसी र भूटान स्काउटको प्रमण्डल पनि सहभागी थियो ।

युवाहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले ‘अनुशासन राष्ट्र सेवाको मुल जग हो’ भन्ने आदर्श वाक्यका साथ विस. २०२२ सालमा स्थापित सो सेवा दलले युवाहरुलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपत्तिको समयमा परिचालन गर्न सकिने तालिमप्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्दै आएको छ। यस आर्थिक वर्षका यसका सात हजार सात सय चार छात्र/छात्रा रहेकामा आगामी वर्ष ११ हजार पाँच सय ५० पुर्याउने लक्ष्य दिइएको छ । हालसम्म यस सेवा दलबाट ८२ हजार एक सय ८४ दीक्षित भइसकेका छन् ।