काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि आफू नेतृत्वको सरकार भएका बेला एक सय एक ऐतिहासिक काम भएको बताउनु भएको छ।
मङ्गलवार नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)द्वारा आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो।
‘यो भन्दा अगाडि म सरकारमा हुँदा मैले नेतृत्व गरेको सरकारले एक से एक ऐतिहासिक काम भएका छन्, ’प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘पूर्वाधार निर्माणका कुरा हुन, विकासका कुरा हुन, शिक्षा क्षेत्रका कुरा हुन्, अरू पनि कुरा हुन।’
प्रधानमन्त्री ओलीले देश बनाउनका लागि हरेकले आफ्नो क्षेत्रबाट सक्ने काम गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले आफ्नो ठाउँबाट सकेको काम गरेर सघाउन सके देश बन्न समय नलाग्ने बताउनुभयो।

प्रधानमन्त्री ओलीले राम्रो काम गर्नेहरूलाई झुटो आरोप लगाउने, काम गर्न नदिने परिपाटी विकसित भइरहको बताउनुभयो। ‘नेपालमा एक खालको लहर के छ भने राम्रो काम कसैले गर्न खोज्यो भने त्यसको विरोध गर्ने, यसको झुटो आरोप लगाउने। कुनै सरकार अलिकति गरौँ भनेर काम गर्न खोज्यो भने त्यसलाई गर्न नदिने, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आफू सरकारमा भयो भने नाटक गर्ने। नाटकमै समय बित्छ। अर्कोले गर्न खोज्यो भने त्यसको विरोध गर्ने, कसरी त्यसलाई असफल बनाउन सकिन्छ भनेर लाग्ने। योभन्दा अगाडि म सरकारमा जाँदा एक सय एक ऐतिहासिक काम भएका छन्।’
‘सेभ द हिमालय–प्रोटेक्टिङ राइट्स अफ वर्कर्स’ विषयमा विमर्श पनि गरिएको कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं जिफन्टका पूर्व अध्यक्ष विष्णुप्रसाद रिमाल, नेकपा (एमाले) को जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, संयुक्त ट्रेड युनियन समन्वय समितिका अध्यक्ष जगत सिंखडा, अन्तर्राष्ट्रिय श्रम सङ्गठनका नेपालस्थित राष्ट्रिय निर्देशकलगायत सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा हिमाल आरोही, उद्धारकर्ता र सम्बन्धित संस्थालाई सम्मान गरिएको थियो ।







प्रतिक्रिया