अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘झापा विद्रोह’का पाँच सहिदका सम्झनामा श्रद्धाञ्जलि सभा

‘झापा विद्रोह’का पाँच सहिदका सम्झनामा श्रद्धाञ्जलि सभा


झापा-तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसमा आज सुखानीमा भावपूर्ण श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ।

‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई इलाम जेल सार्ने निहुँमा वि.सं.२०२९ फागुन २१ गते झापा र इलामको सीमानास्थित सुखानीको जंगलमा तत्कालीन पञ्चायती शासकहरुले गोली हानी हत्या गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टी एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले आज विहान फरक फरक समयमा सुखानी सहादतस्थलमा सहिदहरुको शालिकमा माल्यार्पण गरेका हुन् ।

सुखानीका सहिदहरुको सम्झनामा नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरुले ‘फागुन २१’लाई सहिद स्मृति दिवसको रुपमा मनाउँदै आएका छन्।

झापाको ज्यामिरगढी, सालबारी र गरामनीमा सुखानीका सहिदहरुको शालिक निर्माण गरिएका छन् । ती शालिकहरुमा पनि नेकपा एमाले लगायतका कम्युनिस्ट पार्टीहरुले श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरेका छन् ।
मेचीनगर–१५ ज्यामिरगढीस्थित सहिद वीरेन राजबंशी स्मृति प्रतिष्ठानमा एमालेका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य रविन कोइरालाको नेतृत्वमा एमालेले स्मृति सभा सम्पन्न गरेको छ ।
प्रतिष्ठान परिसरमा सहिद वीरेन राजबंशीको शालिक स्थापना गरिएको छ । कार्यक्रममा सहिद वीरेन राजबंशीका जेठा छोरा नेत्र राजबंशी, जेठी बुहारी बिमला राजबंशी, सहिद परिवारका सदस्य कुमार मेचे र झापा विद्रोहमा १७ वर्ष कठोर काराबास भोग्नु भएको कम्युनिस्ट योद्धा सानो दुर्गा अधिकारीलाई सम्मान गरिएको थियो ।

सरकारले सुखानीमा जीवनको आहुती दिएका झापा विद्रोहका पाँच योद्धालाई विसं। २०७२ फागुन १९ गते राष्ट्रिय सहिदको रुपमा घोषणा गरेको थियो ।