नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा केबलकार निर्माणमा अवराेध पुर्याउने कुराले लगानीकर्ताहरूको मनोबल घटाएको बताउनु भएको छ।
विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरिरहेका बेलामा आन्तरिक लगानीकर्ताहरूलाई लगानी गर्न र विकास निर्माणका काम गर्नबाट रोक्नु भनेको लगानीकर्ताहरूको मनोबल घटाउनु भएको बताउनु भयो ।
महोत्तरीमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ढकालले पाथीभरा मन्दिरमा सहज दर्शनका लागि र पर्यटन प्रवर्द्धनका लागि बनाउन लागिएको पाथीभरा केबलकार निर्माणमा अवरोध सिर्जना गरेर विकास निर्माणका काममा बाधा पुर्याउनु गलत भएको बताउनु भयो।
अध्यक्ष ढकालले यस्ता गतिविधिले स्वदेशमै रोजगारी सिर्जना हुने कुरामा पनि समस्या हुने जिकिर गर्नुभयो । उहाँले बालबालिका, वृद्धवृद्धालाई सहज पहुँचका साथ दर्शन गर्नका लागि बनाउन लागिएको केबलकारले जिल्लावासीलाई घरमै बसेर रोजगारी गर्नसक्ने अवस्था सिर्जना हुने बताउनुभयो । यस परियोजना कोशी प्रदेशकै लागि मेघा प्रोजेक्ट बन्ने दाबी गर्नुभयो।
अध्यक्ष ढकालले भन्नुभयो, ‘त्यो आयोजनाले कोशी प्रदेशको मात्र नभइ समग्रमा पर्यटनमा मेघा प्रोजेक्टको रुपमा आउन खोजिएको छ। यसले हामी लगानीकर्तालाई ल्याउन, विदेशी लगानीकर्तालाई आउन आग्रह गरिरहेका छौं भने आन्तरिक लगानीकर्ताले वैदेशिक रोजगारमा जान बाध्य नेपालीलाई रोक्नका लागि आम नेपालीलाई सर्भिस दिने हिसाबले खोजिएको छ । त्यसको विरोध गरिएको छ। यो चिन्ताको विषय हो ।’
पाथीभरामा केबलकार बनाउनुपर्ने माग स्थानीयको छ। यसले तीर्थालु र भक्तजनहरुलाई दर्शनका लागि सहज मार्ग हुनुका साथै स्थानीयले रोजगारी पाउने अवसर दिनेछ। तीर्थालु र भक्तजनमात्रै नभइ आम पर्यटक र सर्वसाधारणको सहजताका लागि केबलकार बन्नुपर्ने जिकिर स्थानीयको छ।







प्रतिक्रिया