काठमाडौं-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र गणतन्त्र मोल्डोभाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मिहेल पपसोइबीच भेटवार्ता भएको छ।
मन्त्री भण्डारीको स्वकीय सचिवालयका अनुसार सो भेटवार्ताका क्रममा मन्त्री भण्डारीले सन् १९९३ मा कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपाल र मोल्डोभाबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्नुभयो।
कूटनीतिक सम्बन्ध स्थापनाको ३२ वर्षमा गणतन्त्र मोल्डोभाका उपप्रधानमन्त्रीको पहिलो आधिकारिक भ्रमण रहेको हुँदा उक्त भेटघाट कूटनीतिक सम्बन्धको दृष्टिकोणबाट महत्त्वपूर्ण उपलब्धिमात्र नभई आपसी सहकार्य र आर्थिक वृद्धिको नयाँ सम्भावना अन्वेषण गर्ने अवसर पनि रहेको भन्दै मन्त्री भण्डारीले खुसी व्यक्त गर्नुभयो।
हाल नेपाल–मोल्डोभा व्यापार कारोबार सीमित रहेको हुँदा यसलाई विस्तार गर्नुपर्नेमा जोड दिँदै व्यापार तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप व्यवसाय अनुकूल वातावरण निर्माण, व्यापार सञ्चालनको सहजता वृद्धि र महामारीपछिको आर्थिक पुनरुत्थानलाई सुनिश्चित गर्ने प्रतिबद्धताका साथ नेपाल अघि बढिरहेका विषय उल्लेख गरेको बताइएको छ।
दुई देशबीच सहकार्य गर्न सकिने क्षेत्रमा कृषि, उद्योग, पर्यटन, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षाका क्षेत्रमा विद्यार्थी आदानप्रदान कार्यक्रम रहेको मन्त्री भण्डारीले बताउनुभयो।







प्रतिक्रिया