काठमाडौं-नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूले आज पनि आन्दोलनलाई जारी राख्ने भएका छन्।
महासघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज पनि आन्दोलनका लागि बिहान ठिक ११ बजे माइतीघर मण्डलामा आउन शिक्षक, कर्मचारीहरुलाई आह्वान गर्नुभएको छ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गत चैत २० गतेदेखि निरन्तर काठमाडौंमा प्रदर्शन गर्दै आएका छन्।
शिक्षक महासंघ र सरकारबीच गएराति सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बार्ता भएको थियो। वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको वार्तामा सहभागीहरुले बताएका छन्।
सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासंघको तर्फबाट अध्यक्ष सुवेदीसहितको टोलीले गरेको थियो।
वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिनुभएको छ।
शिक्षा मन्त्रालयमा वार्तापछि सुवेदीले गएराति सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘आज शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चल्यो, तर निष्कर्षमा पुग्न सकिएन। हामी भर्खरै मन्त्रालयबाट बाहिर आयौँ। हाम्रो आन्दोलन जारी छ।’
प्रतिक्रिया