अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुर्खेतमा आज दसौँ राष्ट्रिय खेलकुद सुरु हुँदै

सुर्खेतमा आज दसौँ राष्ट्रिय खेलकुद सुरु हुँदै


काठमाडौं-दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज मंगलबारदेखि पाँच खेलका प्रतिस्पर्धा सुरु हुँदै छन्।

प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीका प्रतिस्पर्धा भने आजैदेखि सुरु गर्न लागिएको हो।

आज सुरु हुने खेलमध्ये महिला क्रिकेट, पुरुष फुटबल र महिला बास्केटबलका प्रतिस्पर्धा सुर्खेतमा हुनेछन्। त्यस्तै, टेनिस बर्दिया र पौडीका खेल नेपालगञ्जमा सञ्चालन हुने तालिका छ।

दसौँ राष्ट्रिय खेलकुदमा कुल ३२ खेल समावेश छन्। तीमध्ये २३ खेल सुर्खेतमा आयोजना हुनेछन् भने बाँकी नौ खेल कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र रुकुमपश्चिम तथा लुम्बिनी प्रदेशका नेपालगञ्ज र बर्दियामा सञ्चालन हुनेछन्।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ। कुल ३८४ इभेन्ट्समा १ हजार ३३७ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई समेत नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ।

दसौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ। मंसिर २७ गते प्रतियोगिताको समापन गर्ने कार्यक्रम छ।

यसैबीच, कर्णाली प्रदेशको गौरवको आयोजनाका रूपमा निर्माण गरिएको कर्णाली प्रदेश रंगशाला सोमबार औपचारिक रूपमा प्रदेश खेलकुद विकास परिषद्लाई हस्तान्तरण गरिएको छ। निर्माण कम्पनी एमएसी र जीएसएल जेभीले रंगशाला परिषद्लाई हस्तान्तरण गरेको हो।