काठमाडौँ-लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
राष्ट्रिय जेनजी नागरिक अभियानले उनको नियुक्ति गैरकानुनी तथा विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै रिट दायर गरेको हो।
अभियानका तर्फबाट संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट निवेदन दर्ता गराएका हुन्। रिटमा नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा डोल्मालाई उपाध्यक्षमा नियुक्त गरिएको भन्दै नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाइएको छ।
अभियानका सहसंयोजक अजय सोडारीका अनुसार नियुक्तिको विषयमा सरकारले पटक-पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको थियो । अभियानले उठाएका प्रश्न र सार्वजनिक चासोलाई बेवास्ता गर्दै सरकारले डोल्मालाई कोषमा उपस्थित गराई कार्यभार सम्हाल्ने वातावरण बनाएको आरोपसमेत लगाएको छ।
नियुक्तिको कानुनी वैधता परीक्षण गरी विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितता गर्न सर्वोच्च अदालतमा रिट दायर गरिएको अभियानले जनाएको छ।
उक्त रिटको पेसी बुधबार (मंसिर १० गते) का लागि तोकिएको छ।



प्रतिक्रिया