उल्भरह्याम्टन (बेलायत)-बेलायतका लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेले राजा चार्ल्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ।
बकिङ्घम दरबारमा एक औपचारिक कार्यक्रमबीच राजदूत घिमिरेले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नु भएको बेलायतस्थित नेपाली दुतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिनुभयो। त्यस अवसरमा दुई मुलुकबीचको २०९ वर्षे कूटनीतिक सम्बन्ध स्मरण गर्दै राजा चार्ल्सले नेपालको विकास प्राथमिकता र यसको प्रगतिमा आफूहरुको सहयोग रहने बताउनुभयो । उहाँले आफ्नो व्यक्तिगत सम्बन्ध र नेपाल भ्रमणका कैयौँ क्षण स्मरण गर्नुभएको राजदूत दुवाडीले बताउनुभयो ।
प्रमाणपत्र ग्रहण गर्दै, राजा चार्ल्स ले राजदूत घिमिरेलाई बेलायतका लागि नेपाली राजदुतको नियुक्तिका लागि बधाई ज्ञापन गर्दैै नेपालसँग र बेलायतको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको दुतावासले जनाएको छ ।
कार्यक्रममा राजदूत घिमिरेले नेपाल र बेलायतबीचको दुई शताब्दीभन्दा लामो अटल मित्रतामा जोड दिँदै नेपालको सामाजिक–आर्थिक विकास पहलहरूमा बेलायतको निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गर्दैै पारस्परिक हितका क्षेत्रमा सहकार्य थप बढाउन आवश्यक रहेको बताउनु भयो ।
सो समारोहमा राजदूत घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीकोतर्फबाट राजा चार्ल्स तृतीयको व्यक्तिगत हित र बेलायती जनताको दिगो समृद्धिको कामनासहित पठाउनुभएको शुभकामना सन्देश सुनाउनुभयो।
सन् १९३४ मा लन्डनमा नेपालको मिसन स्थापना भएयता औपचारिक रुपमा राजदूतको भूमिका निभाउने घिमिरे २३औँ राजदूत बन्नुभएको हो।
समारोहमा राजदूत पत्नी सरिता न्यौपाने घिमिरे र दुतावासका कर्मचारी पनि सहभागी हुनुहुन्थ्यो।







प्रतिक्रिया