काठमाडौं-पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शैक्षिक प्रणालीलाई युवामैत्री बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक रहेको बताउनुभएको छ। मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो।
शिक्षा केवल प्रमाणपत्र हासिल गर्ने माध्यममा सीमित हुन नहुने पूर्व राष्ट्रपति भण्डारीको भनाइ छ। उहाँले राष्ट्रको समृद्धि र प्रगति शिक्षाको स्तरसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा व्यापक सुधारको आवश्यकता रहेको बताउनु भयो। उहाँले सूचना प्रविधि र यातायातको तीव्र विकासले आजको विश्वलाई सानो गाउँजस्तो बनाइदिएको उल्लेख गर्दै वैश्वीकरणका अवसरहरूको सदुपयोग तथा चुनौतीहरूको सामना गर्न सक्षम जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताउनु भयो। विद्यालय तथा शैक्षिक संस्थाहरूमा पठनपाठनमा कुनै पनि बहानामा अवरोध नआउने गरी शिक्षामा लगानी बढाउनुपर्नेमा उहाँको जोड छ।
उहाँले भन्नुभयो, ‘शिक्षा एउटा ज्ञान आर्जनको माध्यम मात्र होइन। यो एउटा समुन्नत राष्ट्र निर्माणको लागि महत्त्वपूर्ण आधार हो। कुनै पनि राष्ट्रको प्रगति र समृद्धि त्यस राष्ट्रको शिक्षाको स्तरसँग प्रत्यक्ष रूपमा गाँसिएको हुन्छ। अतः हाम्रो शिक्षा प्रणालीको उद्देश्य केवल प्रमाणपत्र प्राप्त गर्ने, शिक्षित व्यक्तिको उत्पादनमा रहनु हुँदैन। परिवार, समाज र राष्ट्रप्रतिको गहिरो उत्तरदायित्व बोध भएका सक्षम, इमानदार, अनुशासित र जिम्मेवार तयार पार्ने हुनुपर्दछ। सूचना तथा सञ्चार, प्रविधि र यातायातको तीव्र विकासको कारण आजको विश्व एउटा गाउँजस्तै बन्न पुगेको छ। विश्वव्यापीकरणको यस प्रक्रियाले हाम्रा लागि एकातर्फ विभिन्न अवसरका ढोकाहरू खोलिरहेको छ भने अर्कातिर केही चुनौतीहरू पनि थपिएका छन्। प्राप्त अवसरहरूको प्रभावकारी उपयोग गर्न र चुनौतीहरूको सामना गर्नको लागि हामीले हाम्रा बालबालिकाहरूलाई गुणस्तरीय शिक्षाको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धा गर्न सक्ने योग्य र सक्षम बनाउनु आवश्यक छ। यसका लागि हामीले हाम्रो शैक्षिक नीति, पाठ्यक्रम, शिक्षण पद्धति तथा समग्र शैक्षिक प्रणालीमा युवा अनुकुल सुधार गर्नु अपरिहार्य भइरहेको छ। शिक्षामा लगानी बढाएर शिक्षाको पवित्र मन्दिर विद्यालय तथा शैक्षिक केन्द्रहरूको पठनपाठनलाई कतैबाट कुनै पनि बहानामा अवरोध पुर्याउनु हुँदैन।’
नेपाल प्राकृतिक स्रोत र साधनको धनि भएको भएपनि सदुपयोग गर्न नसक्दा समृद्धिका अवसरहरु गुमाइरहेको बताउनु भयो।
प्रतिक्रिया