काठमाडौं – तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ को सम्पूर्ण तयारी सकिएको छ। बैंकिङ्ग समाचार डटकमको आयोजनामा २०८२ जेठ २२ गते अर्थात् भोलि हुने तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ को तयारी पूरा भएको प्रबन्ध निर्देशक राजु ढुंगेल जानकारी दिनुभयो। काठमाडौंको मेरियट होटलमा आयोजना हुने सो डिस्कोर्शको उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नुहुने बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले बताउनु भयो। सो कार्यक्रममा चार वटा सत्रमा विशेष छलफल आयोजकले जनाएको छ।
उक्त कार्यक्रमको बैंकिङ्ग समाचारको फेसबुक पेज र युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ। निर्देशक ढुंगेलले भन्नुभयो, ‘हाम्रा शुभचिन्तक, सरोकारवालाहरूलाई लक्षित गरी हामीले प्रत्यक्ष प्रसारणको व्यवस्था गरेका छौँ ।’ त्यस्तै, यस डिस्कोर्शको प्रत्यक्ष प्रसारण ग्लोबल टेलिभिजन एचडिबाट पनि हुनेछ।
उद्घाटन सत्रमा अर्थमन्त्री विष्णु पौडेल, राष्ट्र बैंक, निजी क्षेत्र र वाणिज्य तथा विकास बैंकका नेतृत्वदायी भूमिकामा रहेका व्यक्तित्वहरूको समेत उपस्थिति रहनेछ। कार्यक्रममा उद्घाटन सत्रसहित चार वटा ‘प्यानल डिस्कसन’ र एउटा विशेष सत्र रहनेछ।
‘नेपालमा कर्जा विस्तारको चुनौती: लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्या: समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ नामक पहिलो र दोस्रो सत्र छन्। यस्तै, तेस्रो सत्रमा ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो–बैंकको नियामकीय अवधारणा’ र ‘मौद्रिक नीति:आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ नामक अन्तिम सत्र हुनेछ ।
यसबाहेक, पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतसँग ‘विशेष सत्र’ हुनेछ। डिस्कोर्शको मुख्य प्रायोजककारुपमा ग्लोबल आईएमई बैंक रहेको छ। यस्तै, इभेन्ट पार्टनरमा ‘इसेवा’ रहेको छ भने रेमिट्यान्स पार्टनरमा ‘माइपे रेमिट्यान्स’ र इन्टरनेट पार्टनरमा डिसहोम रहेको छ। यसैगरी, ‘सर्पोटेडबाइ’मा नबिल बैंक, एससीटी, महालक्ष्मी विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र इन्भेष्टमेन्ट मेगा बैंकसहित अन्य विभिन्न बैंक तथा वित्तीय संस्था र फिनटेक कम्पनीहरू समेत रहेका छन्।
प्रतिक्रिया