अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानसेनापति सिग्देलद्वारा राससको हिमालसम्बन्धी तस्बिर प्रदर्शनीको अवलोकन

प्रधानसेनापति सिग्देलद्वारा राससको हिमालसम्बन्धी तस्बिर प्रदर्शनीको अवलोकन


काठमाडौँ-प्रधानसेनापति अशोकराज सिग्देलले अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नुभएको छ।

यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर समावेश छन्।

त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रधानसेनापति सिग्देललाई स्वागत गर्दै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीबाट नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे जानकारी लिन सहज भएको बताउनुभयो।

यसैबीच नेपाली सेनाले हिमालको प्राकृतिक सौन्दर्यलाई जीवन्त तुल्याउन केही वर्षदेखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ। नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट छ वर्षमा सर्वोच्च शिखर सगरमाथासहित प्रमुख हिमालबाट १२ शव र १०८ मेट्रिकटन फोहर सङ्कलन गरिएको छ।

नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन् २०१९ देखि सुरु भएको अभियानका क्रममा अघिल्लो वर्षमात्रै सगरमाथा, ल्होत्से र नुप्से हिमालका विभिन्न स्थानबाट दुई हजार २२६ किलो कुहिने र आठ हजार ७७४ किलो नकुहिने फोहर सङ्कलन गरिएको थियो । अभियानलाई सफल बनाउन पर्यटन विभाग, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार सङ्घ, नेपाल पर्वतारोहण सङ्घ र फोहर व्यवस्थापनमा सहयोग गर्ने सङ्घसंस्थाको योगदान महत्वपूर्ण रहिआएको छ ।

नेपाली सेना पाँच दशकदेखि प्रकृति र पर्यावरण संरक्षणमा लागेको र कूल सैनिकको १० प्रतिशत जनशक्ति वातावरण संरक्षणमा खटिएको छ । संसारका कुनै पनि मुलुकमा रक्षा बललाई पर्यावरणीय सुरक्षा सहयोग कार्यमा लगाइएका घटना विरलै भएकाले नेपालको अभ्यास अरुका लागि उदाहरणीय ‘मोडल’ रहेको बताइएको छ।