अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिमाल नेपालको गौरव र प्राकृतिक सम्पत्ति हुन्: ईश्वर पोखरेल

हिमाल नेपालको गौरव र प्राकृतिक सम्पत्ति हुन्: ईश्वर पोखरेल


काठमाडौँ-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल नेपालीका लागि गौरव र महत्त्वपूर्ण प्राकृतिक सम्पत्ति भएको बताउनुभएको छ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनी अवलोकनपछि उहाँले नेपालका अमूल्य निधिकारुपमा रहेका हिमाललगायतका प्राकृतिक र सांस्कृतिक धरोहरको महत्वबारे युवा पुस्तालाई बुझाउन आवश्यक रहेको धारणा राख्नुभयो।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘राससले नयाँ ढङ्गले हिमाल र पहाडका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यस्थल चिनारी गराउन तस्बिर प्रदर्शनी गरेको छ, यो रचनात्मक र राष्ट्रहितका कार्य हुन भन्ने ठान्छु।’

सोही पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले हिमालसहित बहुविधामा आधारित तस्बिर प्रदर्शनी आफैँमा सकारात्मक र रचनात्मक भएको प्रतिक्रिया दिनुभयो। हिमाल केन्द्रित प्रदर्शनी सूचना प्राप्ति र ज्ञान वृद्धिका हिसाबले महत्त्वपूर्ण रहेकाले युवा पुस्तालाई आफू, आफना पुस्ता, संस्कृति,  गाउँ र देश चिनाउन आवश्यक रहेको उहाँले बताउनुभयो।

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल बुधबार राष्ट्रिय समाचार समिति(रासस) केन्द्रीय कार्यालयमा रासस मिडिया सङ्ग्रहालय अवलोकन गर्नुहुँदै । तस्बिरः नवीन पौडेल/रासस

प्रचार विभाग प्रमुख गौतमले भन्नुभयो, ‘हामी कुन ठाउँबाट सङ्घर्ष गर्दै यो ठाउँमा आइपुगेका हौँ, हाम्रा सम्पदा, संस्कृति र भूगोल  के हुन् ? भन्ने युवा पुस्तामा बुझ्ने तदारुकता कमजोर देखेको छु, उनीहरुका लागि यो प्रदर्शनी ज्ञान आर्जन गर्ने थलो हुन सक्छ।’

आफ्नो राष्ट्रलाई बलियो र समृद्ध बनाएमा विदेशमा रहँदा बेग्लै सम्मान पाइने हेक्का राख्न युवा वर्गलाई  उहाँले सुझाव दिनुभयो ।

त्यसैगरी प्रेस चौतारी नेपालका उपाध्यक्ष चेतन अधिकारीले तस्बिर प्रदर्शनीयले पर्वतीय पर्यटनबारे जान्न र प्रचारप्रसारमा टेवा पु¥याउने उल्लेख गर्नुभयो । उहाँले यस्ता प्रदर्शनीमा राखिएका तस्बिरबाट जलवायु सङ्कट अघिपछि  पर्वतीय शृङ्खलाहरुको अवस्थाको अभिलेखीकरण हुने बताउनुभयो ।

‘यो प्रदर्शनीको अवलोकनपछि हिमाल हेर्न जाउँजाउँ लाग्ने रहेछ। यी ठाँउहरुमा पर्यटक आकर्षित गर्न सहयोग पुग्नेछ। पर्वतीय भूभागमा जान नसक्नेका लागि सजीव दृश्य पनि यस प्रदर्शनीले प्रस्तुत गरेको छ’, उहाँले भन्नुभयो।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले उहाँहरुलाई स्वागत गर्नुभएको थियो। यही जेठ ११ गतेदेखि आयोजित प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर समावेश गरिएका छन्।