अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनकपुरका गंगा कपुर, जसको रिक्सा प्रयोग गर्दा गर्भवतीलाई पैसा लाग्दैन 

जनकपुरका गंगा कपुर, जसको रिक्सा प्रयोग गर्दा गर्भवतीलाई पैसा लाग्दैन 


जनकपुर-नेकपा एमालेका केन्द्रीय सदस्य सञ्जिव कुमार झाले केही बेरअघि प्रधानमन्त्री केपी शर्मा ओली र उहाँको सचिवालयलाई मेन्सन गर्दै सामाजिक सञ्जालमा एउटा सिटी रिक्साको तस्विर सहित छोटो स्टाटस पनि पोस्ट गर्नुभयो। उहाँले पोस्ट गरेको सिटी रिक्सामा देख्न सकिन्छ ‘गर्भवती महिलाको भाडा लाग्ने छैन।’

झाले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार जनकपुरधाम भित्रका गर्भवती महिलाहरूले अस्पताल जाँदा/आउँदा यो सिटी रिक्सामा भाडा तिर्नु पर्दैन। झाले लेख्नुभएको छ, ‘जनकपुरधाम जहाँ इमर्जेन्सीमा १० गुणा भाडा लिनेहरू पनि भेटिन्छन्। त्यही ठाउँमा गङ्गाजी जस्ता व्यक्ति पनि गर्भवतीलाई निःशुल्क इरिक्सा सेवा प्रदान गरिरहनु भएको छ। गङ्गाजीप्रति मेरो सम्मान।’

 सिटी रिक्सामा आफ्नो सम्पर्क नम्बर समेत राखेका गङ्गा कपुरलाई हामीले टेलिफोन गर्‍यौँ र गर्भवतीलाई नि:शुल्क सेवा दिनुको कारण सोध्यौं। कपुरले बताए अनुसार अघिल्ला महिना उहाँ जनकपुर प्रादेशिक अस्पतालमा काम विशेषले जानु भएको थियो। अस्पताल परिसरमा भेटिएका गर्भवतीहरुसँग रिक्सावालाहरूले भाडामा बार्गेनिङ गरिरहेका थिए। ‘रिक्सावालाले ६० रुपैंया मागिरहेको थियो। ति महिलाले आफूसँग ५० रुपैंया मात्र भएकोले त्यतिमा लैजान भनिरहेकी थिइन्’ कपुरले भन्नुभयो ‘त्यो देखेपछि गर्भवतिहरु प्रति धेरै दया लाग्यो । एकातिर जीउको समस्या अर्कातिर पैसाको समस्या देखें।’

 यो दृश्य देखेपछि कपुरले ३ लाख ७० हजार रुपैयाँमा सिटी रिक्सा किन्नुभयो। तर सिटी रिक्सा किन्नु अघि नै उहाँले गर्भवतीलाई चाहिँ निःशुल्क सेवा दिन्छु भन्ने प्रतिबद्धता मनमनै गरिसक्नु भएको थियो। ‘पहिला तीन वर्ष सिटी रिक्सा नै कुदाएको थिए । त्यो छोडेर होटेल चलाएको थिए ’ कपुरले भन्नुभयो ‘अब के गरौँ भन्नेमा थिए। त्यो दृश्य देखेपछि फेरी सिटी रिक्सामा फर्कन्छु र गर्भवतीलाई निःशुल्क सेवा दिन्छु भन्ने सोचें।’

 कपुरका अनुसार नयाँ रिक्सा किनेको १५ दिन जति भयो । रिक्सा किनेकै दिन ‘गर्भवतीलाई भाडा लाग्दैन’ भनेर लेख्न लगाइएको हो । आफ्नो मोबाइल नम्बर सहित यस्तो सूचना राखेपछि कोही दुःखमा परेका र भाडा तिर्न नसक्नेहरू सम्पर्कमा आउँछन्। ‘भाडा तिर्न सक्नेहरूले सहानुभूति देखाउने रहेछन्’ कपुर भन्नुहुन्छ ‘ल यही भाइकैमा जाऊँ भनेर मेरै रिक्सामा चढ्छन्।’

अस्पतालबाट र बाटोमा भेटिएका गरी हालसम्म पाँच जना गर्भवतीलाई अस्पताल र घर पुर्‍याइदिएको उहाँले बताउनुभयो । जनकपुरको रामानन्द चौक आसपासमा भेटिने कपुर मानिसले सबै कुरालाई पैसामा तुलना गर्न नहुने बरु समाजसेवाका भावले पनि हेर्नुपर्ने बताउनुहुन्छ छ।

Skip This