काठमाडौं- बेलायत भ्रमणमा रहनु भएका नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले लिभरपुल विश्वविद्यालयको अवलोकन गर्नुभएको छ ।
प्रवासी नेपाली मञ्च, बेलायतको अधिवेशनमा सहभागी हुन आउनुभएका पोखरेलले हिजो विश्वविद्यालयको भौतिकशास्त्र विभागमा पुगेर पदार्थको सुस्मकण (एटम) सम्बन्धी अध्ययन र जानकारी लिनुभएको हो ।
उक्त अवसरमा विश्वविद्यालयका प्राध्यापक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले पोखरेललाई भौतिकशास्त्र क्षेत्रमा विश्वव्यापी रूपमा भइरहेका अनुसन्धान र नवीन प्रयोगहरूको बारेमा जानकारी गराउनुभएको थियो।
महासचिव पोखरेलले विश्वविद्यालयको प्रयोगशाला, पुस्तकालय, अनुसन्धान कक्ष लगायतका संरचनाहरूको पनि अवलोकन गर्नुभएको थियो। उहाँलाई लिभरपुलस्थित नेपाली समुदायका अध्यक्ष नेत्र खरेलले स्वागत गर्नुभयो ।
पोखरेलसँगै अन्तर्राष्ट्रिय प्रवासी नेपाली मञ्चका अध्यक्ष सजय थापा, एमाले नेता भक्त गुरुङ, प्रभु थापा, डा. मनोहर बुढाथोकी, विनोद शर्मा, एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य, एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे र प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष पशुपति पोखरेलले समेत विश्वविद्यालयको अवलोकन गर्नुभएको थियो ।
प्रतिक्रिया