अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतबाट ५६ अर्ब अनुदान, १ खर्ब ८४ अर्ब सहुलियतपूर्ण ऋण

भारतबाट ५६ अर्ब अनुदान, १ खर्ब ८४ अर्ब सहुलियतपूर्ण ऋण


काठमाडौँ-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग प्याकेज प्राप्त गरेको र भैरहवा हवाई रुट दुईतर्फी बनाउने सहमति भएको जानकारी दिएका छन्।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले उक्त आर्थिक प्याकेजमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सुविधा (लाइन अफ क्रेडिट) रहेको बताए।

उनका अनुसार १ खर्ब ८४ अर्ब रुपैयाँको ऋण सुविधा एकैपटक लिएर खर्च गर्ने नभई आवश्यकताअनुसार विकास तथा निर्माणका काम अघि बढाउन उपयोग गर्न सकिने वित्तीय स्रोतको सुनिश्चितता हो।

‘हामीले काम गर्दै र निर्माण कार्य अगाडि बढाउँदै जाने हो भने वित्तीय स्रोतको अभाव नहोस् भन्ने प्रत्याभूति हो यो,’ उनले भने।

मन्त्री वाग्लेले उक्त ऋण भारतीय रुपैयाँमै लिएर भारतीय रुपैयाँमै भुक्तानी गर्न सकिने विकल्प खुला भएको जानकारी दिए। विगतमा अमेरिकी डलरमा ऋण लिँदा विनिमय दरमा हुने उतारचढावका कारण नेपालको ऋण दायित्व बढेको उल्लेख गर्दै उनले भारुमै ऋण लिएर भारुमै तिर्ने व्यवस्थाले विनिमय जोखिम हटाउने बताए।

उनका अनुसार नेपालले डलर वा भारुमध्ये कुन मुद्रामा ऋण लिने भन्ने विकल्प अझै खुला छ। ब्याजदर, भुक्तानी अवधि, ग्रेस पिरियड र मुद्रासम्बन्धी विषय प्राविधिक वार्ताबाट टुंगो लगाइनेछ।

ऊर्जा क्षेत्रको दीर्घकालीन आवश्यकता १०० अर्ब डलरभन्दा बढी रहेको उल्लेख गर्दै उनले ऊर्जा मन्त्रालयको आग्रहमा तत्काल आवश्यक परे उपयोग गर्न सकिने गरी एक अर्ब डलर बराबरको लाइन अफ क्रेडिट सुनिश्चित गरिएको बताए।

यसैगरी, मन्त्री वाग्लेले भैरहवा हवाई रुटलाई दुईतर्फी बनाउने विषयमा भारतसँग सहमति हुनु नेपालको हवाई सम्पर्क विस्तारका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए। एकतर्फी सञ्चालन हुँदै आएको उक्त रुट दुईतर्फी बनाउने विषयमा १० देखि १२ वर्षदेखि प्रयास हुँदै आएको उनको भनाइ छ।

उनका अनुसार भैरहवा रुट दुईतर्फी भएपछि लुम्बिनीसहित पश्चिम नेपालमा अन्तर्राष्ट्रिय हवाई पहुँच विस्तार गर्न सहज हुनेछ। आगामी दिनमा महेन्द्रनगर, जनकपुरलगायतका नाका हुँदै अन्य अन्तर्राष्ट्रिय सहरसँग पनि हवाई सम्पर्क विस्तार गर्ने सरकारको योजना छ।

बैठकमा मन्त्री वाग्लेले बागडोगरासँग जोडिएको १२५ किलोमिटर भूमिको विषयमा सार्वजनिक भएका टिप्पणी र हल्ला भ्रामक रहेको स्पष्ट पारे। उक्त विषयलाई लिएर अनावश्यक भ्रम सिर्जना गरिएको उनको भनाइ थियो।

त्यस्तै, सुनकोशी–सप्तकोशी हाइ ड्याम परियोजना र सुनकोशी स्टोरेज कम डाइभर्सन स्किमबारे अध्ययन तथा भविष्यमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने समझदारीअनुसार काम भइरहेको उनले जानकारी दिए।

भारत भ्रमणका क्रममा भएको सहकार्यसम्बन्धी समझदारीपत्रले दुई देशबीचको सहयोगलाई औपचारिक, नियमित र संस्थागत बनाउन तथा विभिन्न क्षेत्रमा समन्वयात्मक ढङ्गले काम अघि बढाउन सहयोग पुग्ने मन्त्री वाग्लेले बताए।

समिति बैठकमा नेकपा (एमाले)का सांसद डा. पुष्पराज कँडेलले ऋणको ब्याजदर र भुक्तानी अवधिबारे प्रश्न गरेका थिए। नेपाली कांग्रेसका सांसदहरूले पनि भारतीय मुद्रामै ऋण लिएर त्यही मुद्रामै भुक्तानी गर्नुपर्ने हो कि होइन भन्ने विषयमा जिज्ञासा राखेका थिए।

जवाफमा मन्त्री वाग्लेले ऋणको मुद्रा, ब्याजदर र भुक्तानीका सर्त प्राविधिक वार्ताबाट निर्धारण हुने स्पष्ट पारे।