अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपत्यकामा एकै दिन ७७४ सवारीचालक कारबाहीमा

उपत्यकामा एकै दिन ७७४ सवारीचालक कारबाहीमा


काठमाडौं-काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई नियमित निगरानी तथा चेकजाँचका क्रममा कारबाही गरिएको हो।

कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६१ जना, सिसिटिभी फुटेजका आधारमा पहिचान भएका ३५ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने २० जना र तीव्र गतिमा सवारी चलाउने १२६ जना छन्।

त्यस्तै निषेधित क्षेत्रमा हर्न बजाउने १८ जना, सवारीसाधनको अवस्था ठीक नभएका २२ जना र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने दुई जना कारबाहीमा परेका छन्।

अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ४९० जनालाई समेत कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए।

कारबाहीमा परेका चालकलाई नियमअनुसार जरिवानासहितको कारबाही गरिएको उनले बताए।

ट्राफिक प्रहरीले सडक अनुशासन कायम राख्न उपत्यकाका विभिन्न स्थानमा नियमित चेकजाँच तथा निगरानीलाई तीव्रता दिँदै आएको छ ।

प्रहरीले सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन तथा मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरेको छ ।
सवारी नियमको पालना चालकको जिम्मेवारी मात्र नभई पैदलयात्रुसहित सडक प्रयोग गर्ने सबैको सुरक्षासँग जोडिएको विषय भएकाले जिम्मेवार र सुरक्षित रूपमा सवारी चलाउन प्रहरीले सबैलाई अनुरोध गरेको छ ।