ताप्लेजुङ-ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ स्थित ओलाङचुङगोला केन्द्रविन्दु भएर पटक-पटक भूकम्प जान थालेपछि स्थानीय त्रसित बनेका छन्। २०७७ सालदेखि हालसम्म यस क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार पटक भूकम्प गएको छ।
मंगलबार बिहान ७ बजेर १७ मिनेटमा ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपास केन्द्रविन्दु भएर ५.६ म्याग्निच्युडको भूकम्प गएपछि स्थानीय थप त्रसित बनेका हुन्। बिहानै दैनिक काममा जुटेका स्थानीयले एक्कासि जमिन र घर हल्लिएपछि भूकम्पको धक्का महसुस गरेका थिए।
मैवाखोला गाउँपालिका–३ साँघुकी निर्मला लिम्बूले भूकम्पको कम्पनले आफूहरू त्रसित भएको बताइन्। कम्पन रोकिनासाथ आफन्तलाई फोन गरेर अवस्था बुझेपछि मात्र मन शान्त भएको उनले सुनाइन्।
फक्ताङलुङ गाउँपालिका–६ लेलेपकी मनमाया लिम्बू भूकम्प गएको समयमा घरनजिकै रहेको बाख्राको खोरमा दानापानी दिँदै थिइन् । एक्कासि जमिन र घर हल्लिन थालेपछि उनी आत्तिएर चिच्याएकी थिइन्।
‘एक्कासि जमिन हल्लिन थाल्यो, घरसमेत हल्लियो। २०७२ वैशाख १२ गतेको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले आंशिक क्षति पुर्याएको घर फेरि हल्लिन थालेपछि आत्तिएर भूकम्प आयो भन्दै चिच्याएँ,’ उनले सुनाइन्।
भूकम्पको धक्का ताप्लेजुङका विभिन्न स्थानसहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान गएको भूकम्पको केन्द्रविन्दु ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपास रहेको थिय ।
फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन लामाका अनुसार ओलाङचुङगोला क्षेत्रमा भूकम्पको निकै ठूलो धक्का महसुस गरिएको थियो। उनका अनुसार भूकम्पले घरहरू निकै हल्लाए पनि तत्काल कुनै क्षतिको विवरण प्राप्त भएको छैन।
‘भूकम्पले घरहरू निकै हल्लायो । यही क्षेत्रमा केन्द्रविन्दु भए पनि क्षति भने भएको छैन,’ उनले भने । जिल्लाकै उच्च स्थानमा रहेको फक्ताङलुङ गाउँपालिका–७ को याङमा गाउँमा समेत भूकम्पबाट कुनै क्षति नभएको उनले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जिल्लामा भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त नभएको बताए ।
‘हाम्रो संयन्त्रमार्फत क्षतिको विवरण माग गरेका छौँ । तर, अहिलेसम्म विवरण आएको छैन,’ उनले भने । प्रहरीमार्फत समेत क्षतिको विवरण प्राप्त नभएको भट्टराईले जानकारी दिए ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्यांकअनुसार ओलाङचुङगोला क्षेत्र पटक–पटक भूकम्पको केन्द्रविन्दु बन्दै आएको छ ।
केन्द्रका अनुसार यसअघि २०७७ माघ २७ गते बिहान ७ बजेर ३५ मिनेटमा ओलाङचुङगोला केन्द्रविन्दु भएर ५.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै, २०७९ वैशाख १२ गते साँझ ७ बजेर १७ मिनेटमा ३.५ म्याग्निच्युड र सोही वर्ष माघ ३० गते बिहान ४ बजेर ३० मिनेटमा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
पटक–पटक भूकम्पको धक्का महसुस हुन थालेपछि ओलाङचुङगोला र आसपासका बासिन्दामा त्रास बढ्दै गएको छ ।



प्रतिक्रिया