काठमाडौँ-वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले कर्णालीले विकास निर्माणदेखि राज्यको मूल प्रवाहमा महत्त्वपूर्ण स्थान ओगटेको बताउनुभएको छ।
बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले यस्तो बताउनु भएको हो। उहाँले कर्णाली पछि परेको भनिए पनि आफूलाई त्यस्तो नलागेको बताउनुभयो। उहाँले हरेक कुरामा कर्णाली अगाडी बढिरहेको जिकिर गर्नुभयो।
मन्त्री ठकुरीले सबै राजनीतिक दल र जनप्रतिनिधिहरू कर्णालीको विकासको लागि एकमतका साथ अगाडी बढिरहेको दाबी गर्नुभयो। उहाँले विकास निर्माणका सवालमा सबै एकसाथमा रहेको बताउँदै आगामी दिनमा पनि सबै मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले राजनीतिक आस्था र विश्वास आ-आफ्नो ठाउँमा भए पनि देशलाई सङ्कट परेको बेलामा सबै एक ठाउँमा आएर देशलाई निकास दिनु र विकास गर्नु सबैको कर्तव्य रहेको जिकिर गर्नुभयो।
मन्त्री ठकुरीले भन्नुभयो, ‘हामी अहिले कर्णालीलाई पछि परेको आदी, इत्यादि भन्छौँ। मलाई लाग्छ, त्यस्तो भइरहेको छैन। अहिले हरेक कुरामा कर्णाली अगाडी बढिरहेको छ। विकास निर्माणको कुरादेखि लिएर राज्यको मूल प्रवाहमा अहिले कर्णालीले महत्वपूर्ण स्थान ओगटेको छ। हामी सबै राजनीतिक दलहरू, जनप्रतिनिधिहरूले कर्णालीलाई साझा रूपमा विकासको लागि एकमतका साथ अगाडी बढ्ने जुन प्रयत्न भइरहेको छ र हामी लागि नै राखेका छौँ। विकास निर्माणका सवालमा हामी सबै एकसाथमा छौँ। आगामी दिनमा पनि सबै मिलेर अगाडी बढ्नु छ। यो देशको विकासको लागि राजनीतिक आस्था र विश्वास आ-आफ्नो ठाउँमा भए पनि देशलाई सङ्कट परेको बेलामा सबै राजनीतिक दलहरू एक ठाउँमा आएर देशलाई निकास र देशमा विकास गर्नु हामी सबैको कर्तव्य हो।’
हरेक क्षेत्रमा कर्णालीका प्रतिभाहरू अगाडी बढिरहेको बताउँदै मुलुकको राजनीतिकदेखि प्रशासनिक क्षेत्रमा पनि कर्णालीको उल्लेखनीय उपस्थिति रहेको बताउनु भयो।
प्रतिक्रिया