काठमाडौं-नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले व्यक्तिगत सेक्युरिटी अफिसर (पीएसओ)को व्यवस्थाबारे आपत्ति जनाउनुभएको छ।
बुधवार सिंहदरबारमा “नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्न बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद राईले यस्तो बताउनुभएको हो।
सांसद राईले सबैसँग पीएसओ भएको बताउँदै प्रहरी चौकी खाली हुने र नेताहरू पीएसओ बोकेर हिँड्ने प्रवृत्ति बढेको बताउनु भयो। उहाँले दौरा शुरुवाल लगाउने सबैसँग पीएसओ रहेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गर्नुभयो।
सांसद राईले पूर्व तथा निःवर्तमान प्रहरीका आइजिपी र एआइजीको घरमा समेत प्रहरीहरूलाई कामकाजमा राखिएको भन्दै आपत्ति जनाउनु भयो। उहाँले सेवा निवृत्त भएका प्रहरी अधिकारीले पनि पीएसओ राख्ने व्यवस्था लोकतन्त्रको खिलाफमा रहेको बताउनुभयो। उहाँले आफूहरूले जनतालाई सुशासन दिनुपर्ने बताउँदै जनताले देख्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो।
सांसद राईले भन्नुभयो, ‘गृहमन्त्रीज्युलाई मेरो एउटा निवेदन गर्न पर्यो। यो पीएसओ भनेको के हो मैले बुझिन। सबैसँग छ अहिले हेर्नुस्। सबैले पुलिस लिएर कुदेको कुद्यै छ। चौकी खाली छ। के भएर यस्तो भएको हो ? सबै मान्छेसँग पीएसओ। जो दौरा सुरुवाल लगाएको छ, उसैसँग पीएसओ। यो के भएर यस्तो हुन्छ ? मैले बुझ्दै छु, हिजोका आइजिपी भएको, हिजो एआईजी भएको घरमा पनि राखिएको छ। यसो गर्नु हुँदैन। यो लोकतन्त्रको खिलाफमा छ। जनतालाई हामीले सुशासन दिने हो। जनताले देख्ने गरी काम गर्नुपर्यो।’
सांसद राईले प्रहरीहरूले सांसदको लोगो लगाउँदा पनि नचिनेको भन्दै गुनासो गर्नुभयो।
प्रतिक्रिया